काठमाडौं/ प्रतिनिधिसभा बैठकमा  केही सांसदहरुले एक अर्काका शीर्ष नेतामाथि अपमानजनक उपमनाम दिएका छन् । प्रतिपक्ष र सत्ता पक्षका सांसदहरुले एकअर्का दलका नेताको नाम बंग्याएर एकअर्काप्रति अमर्यादित अभिव्यक्ति दिए ।

पूर्वमन्त्री समेत रहिसकेका कांग्रेस सांसद उमाकान्त चौधरीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा टिप्पणी गर्दा गलत अर्थ लाग्नेगरी नामको प्रयोग गरे ।

विशेष समयमा बोलेका उनले, ‘जथाभावी कर निर्धारण गरेर करप्रसाद ओली उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारबाही हेर्दा उहाँले सधैं झूठको आश्वासन दिने, झूठको खेती गर्ने भएकोले अब उहाँको नाम झूठप्रसाद ओली उपनाम दिँदा केही फरक पर्नेवाला छैन’ भन्ने टिप्पणी गरे ।

चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नियमापत्ती गरेका नेकपाका सांसद झपट रावलले बोल्दा फेरि चौधरीकै शैली पछ्याए । र उनलार्य जवाफ दिने नाममा उनले प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका बारेमा अपशब्द प्रयोग गरे ।

रावलले पूर्वप्रधानमन्त्री रहिसकेका कांग्रेस सभापति शेरबहादुर देउवालाई अपमानजनक शब्द प्रयोग गरे । आफूहरु नेपाली जनताको प्रतिनिधि भएकाले भाषा सभ्य हुनुपर्छ भन्दै बोलेका उनले, ‘प्रतिपक्ष दलको नेता ज्यू, जो हामीले आदर गर्छौं, सम्मान गर्छौं हामीले पनि उहाँको नाम शेरबहादुर नभनेर छेरबहादुर भन्न यदि बाध्य भयौं भने के हुन्छ ?’ भने ।

यति भन्दै उनले आफु र कांग्रेस सांसद चौधरीले बोलेका दुबै शब्द अमर्यादित र असभ्य भाषा भन्दै रेकर्डबाट हटाउन माग पनि गरे । तर सभामुख कृष्णबहादुर महराले हटाउने निर्णय गरेनन् र ‘मैले केगर्ने त्यो निर्णय पछि गर्छु’ भने ।

चौधरीले प्रधानमन्त्री ओलीप्रति अपशब्द गर्दा नेकपाका सांसदद्वय महेश वस्नेत र बोहोरा आफुहरु बसेकै स्थानमा खस्याकखुसुक गर्दै थिए । लगत्तै बोहोराले नियमापत्ति गर्दै आफुलाई बोल्न समय दिन आसनबाट उठेका थिए ।

तर सभामुखले भने पछि बोल्नुहोला भन्दै चन्दा चौधरी, प्रदीप यादव, प्रेम सुवाल र राजेन्द्रकुमार केसीलाई समय दिएका थिए ।

Facebook Comments Box