कमल/कमल–५ स्थित लगनशील कृषि सहकारी संस्थाले आयोजना गरेको खुला रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ ।
सहकारीले आफ्नो १४ औं साधारणसभाको अवसर पारेर बार्षिक कार्यक्रम अन्तर्गत हरेक बर्ष नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको र मंगलबार ६ महिलासहित ५१जनाले रगत दान गरेको संस्थाका सचिव भिष्मप्रसाद सिटौलाले बताए ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा संस्थाको कार्यालय प्राङ्गणमा रक्तदान भएको थियो । साधारणसभा यही असोज २२ गते शुक्रबार हुँदैछ । ७ सय ६६ जना शेयर सदस्य रहेको सो संस्थाको गत आवको शेयर पूँजी २ करोड ३३ लाख ४६ हजार २ सय पुगेको छ । त्यस्तै, संस्थाले गएको आर्थिक वर्षमा १४ करोड ५७ लाख ४७ हजार ७ सय ७४ रुपैयाँ बराबरको कारोबार गरेको व्यवस्थापक तिलक कार्कीले जानकारी दिए । संस्थाले सदस्यकेन्द्रीत बचत तथा ऋणबाहेक विगत केही वर्षदेखि दूग्ध डेरी सञ्चालन गरेको र हाल सो डेरीमा दैनिक २३७ पशुपालक किसानबाट करिव ७ सय लिटर दुध संकलन गरिरहेको साथै दुग्धजन्य वस्तुहरु विक्रीवितरण गर्दै आएको छ । आगामी दिनमा डेरी उद्योग संचालन गर्ने योजना रहेको पनि प्रतिवेदनमा जनाइएको छ । वार्षिक २ हजार लिटर दूध जम्मा गर्ने किसानको पशु बिमा संस्थाले नै गरिदिने गरेको योजना गरिएको छ । त्यसैगरी सो सहकारीले किसानहरुको सुविधा र हितलाई ध्यानमा राखी युरिया, डिएपी, पोटासजस्ता रासायनिक मल पनि सर्वसुलभ दरमा विक्रीवितरण गर्दै आएको संस्थाका अध्यक्ष लाल बहादुर विष्टले जानकारी दिए ।