दमक/ हिन्दु धर्मावलम्बीहरुका घर घरमा तिहार अर्थात यमपञ्चक पर्व भित्रिएको छ । हिजो ( कार्तिक शुक्ल त्रयोदशी) देखि शुरु भएको तिहार अर्थात यमपञ्चक अन्तर्गत यसपटक काग तिहार र कुुकुर तिहार आज ( बुधबार) एकैदिन परेको छ । तिहारका विशेष पाँच दिन मध्येको आज दोश्रो दिन भएपनि काग र कुकुर दुवैको पूजा आजकै दिन गरिएको छ । भोली बिहिबार साँझ लक्ष्मीपूजा र पर्सीे शुक्रबार गोवर्धन पूजा गरिँदैछ भने शनिबार भाइटिका परेको छ ।
हिन्दु धर्मावलम्बी खस आर्य समुदायको मात्रै नभएर यो पर्व जनजाती तथा आदिवासी समुदायमा पनि आआफनै शैलीमा मनाउने गरिन्छ । पूर्वी तराईका आदिवासी राजवंशी, ताजपुरिया, गनगाई, माझीलगायत भूमिपूजकहरुले तिहारमा मनाउने हुक्का हुक्की विशेष महत्वपूर्ण छ । आफना पितृहरुको स्मरण गर्दै दादो दादे हुक्का दे….भनेर सनपाठको डाँठ ( सुन्ठी)मा आगो सल्काएर आकाशतिर फाल्दै मनाइने हुक्काहुक्कीको आफनै विशेष महत्व छ । सो समुदायमा लक्ष्मी पूजालाई ‘लख्खी’ पूजा पनि भन्ने गर्छन । ‘पहाडिया हिन्दू समुदाय लक्ष्मी पूजाको दिन धन–सम्पत्तिको पूजा गर्छन । हामीचाहिँ भूमिको पूजा गर्छौँ । त्यो हाम्रो लख्खी पूजा हो,’ नेपाल आदिवासी जनजाति महासंघका नेता नित्यानन्द ताजपुरिया भन्छन्, ‘भूमिले अन्न दिन्छ । भूमिले हाम्रो जीवन बचाउँछ । त्यसैले हामी भूमिको पूजा गर्छौँ ।’ उनीहरूले भूमिको पूजा गर्दै ‘लोकेर धान हेकाबेका, हामार धान दूधेर टेका भन्छन । अर्थात् अरूको धान बाङ्गोटिङ्गो भए पनि मेरो धानचाहिँ दूधैदूधले भरियोस । आदिवासीले धानमा किरा नलागोस्, राम्रो फलोस् भनेर औँसीको रातमा खेतमा माटोको दियो बाल्ने गरेको ताजपुरियाले बताए ।
बिहान लख्खी पूजा गरेका आदिवासीले औँसीको कालो रातमा सन्ठी र दियो बालेर पितृलाई अर्पण गर्ने अर्थात पितृ बसेको ठाउँलाई उज्यालो बनाउने गर्छन । ‘हामी अरूले जस्तो सोह्रश्राद्ध गर्दैनौँ । पितृलाई औँसीको रातमा सन्ठी र दियोको उज्यालो दिएर सम्झन्छौँ,’ उनी भन्छन्, ‘दादो–दादे, नानानानी (हजुरबुबा–हजुरआमा) हुक्का दे भन्दै सन्ठीको आगो बालेर आकाशतिर फाल्ने चलन छ । पितृलाई यहीँबाट हुक्का चढाएका छौँ ग्रहण गर्नू भन्छौँ ।’ हुक्काहुक्की सामूहिक रूपमा खेलिने खेल भएकाले यसले समाजमा सामुहिकताको भावना समेत बढाउने गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी बताउँछन ।
पछिल्लो समय युवा पुस्तामा आफनो संस्कार संस्कृतिप्रतिको मोह बढदै गएको तिहारमा खेलिने हुक्काहुक्की खेलबाट पुष्टि हुने झापा गौरीगञ्जका क्रियाशील पत्रकार आत्मराम राजवंशी बताउँछन ।
कुञ्जीबारीमा बृहत साँस्कृतिक कार्यक्रम
यसैबीच आज ( बुधबार) तिहारको अवसरमा झापाको गौरीगञ्ज १ कुञ्जीबारीमा बृहक हुक्काहुक्की साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कोचिला एकता जागरण समिति गौरीगञ्जको आयोजनामा कुञ्जीबारी बजारमा गर्ने तयारी गरिएको सो कार्यक्रममा चर्चित गायक बलराम राजवंशीसहित स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजक समितिका मुकेश राजवंशीले जानकारी दिए ।
