१९४२ सालमा पूर्व नेपालको इलाममा जन्मनुभएका गुरु फाल्गुनन्दसँग अद्भूत तथा चामत्कारिक गुण रहेको विश्वास गरिन्छ । पूर्वी नेपालका विभिन्न ठाउँमा किराँतहरुको मगंहिम मन्दिरको स्थापना गर्न उहाँको विशेष र महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ ।
पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने अत्यन्त शालीन अनि प्रकृतिप्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको पार्दुभाव गर्न गुरु फाल्गुनन्दको विशेष भूमिका रहेको मानिन्छ । त्यस्तै, किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुनन्दको ठूलो भूमिका छ । त्यसैले पनि वर्षौपछि पनि विशेषगरि किराँत समुदायमा गुरु फाल्गुनन्दको चर्चा निकै चल्ने गरेको छ ।

नेपाल सरकारले २०६६ साल मंसिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको सम्मानस्वरुप पाँचथर जिल्लामा एक गाउँपालिकको नाम फाल्गुनन्द गाउँपालिका राखिएको छ । अनि झापा जिल्लाको शान्तिनगरमा उहाँको पूर्णकदको प्रतिमा पनि स्थापित गरिएको छ । त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडकमार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामाकरण गरेको छ ।

प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रुपमा पनि चिनिने गुरु फाल्गुनन्दको तस्वीर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ ।

नेपालमा मात्र होइन, भुटान र भारतमा फैलिएका किराँत समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रुपमा लिने गरेका छन् । फाल्गुनन्द जयन्तीको अवसरमा किराँत समुदायका अगुवाहरुले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् ।

समाज सुधारकका रुपमा पनि लिइने फाल्गुनन्दको पूरा नाम चाहिँ फाल्गुनन्द लिङ्देन हो । उहाँलाई अति प्रतिष्ठित गुरु, सत्यवक्ता र साधुका रुपमा पनि लिने गरिएको छ । उहाँले दिनुभएका दिव्यज्ञान अनि परमसत्य वचनहरुले आज पनि मानव जीवनको विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको पाइन्छ । यीनै सामाजिक अनि आध्यात्मिक चिन्तनका गुरु फाल्गुनन्दको सम्झनामा नेपालका विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रमहरु पनि गरिन्छ ।

गुरु फाल्गुनन्दको दिव्य वचन तथा ज्ञानलाई आत्मसाथ गर्दै २०७० सालमा पहिलो पटक नेपालमा लिम्बु सम्मेलन पनि आयोजना गरिएको थियो । ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम्’ मूल नाराका साथ यो सम्मेलन आयोजना गरिएको थियो । यो सम्मेलनले लिम्बुहरुलाई अन्तर्राष्ट्रिय स्तरमा नै संस्थागत तथा संगठित हुने वातावरण सिर्जना गरेको विश्वास गरिन्छ ।

गुरु फाल्गुनन्दका अहिंसाका सिद्धान्तहरु उदाहरणीय भएको पनि मानिन्छ ।

तर, १९४२ सालमा जन्मिँदा फाल्गुनन्दको सुरुवाती दिन सहज थिएन । बाबु जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साँहिला छोराका रुपमा जन्मिनुभएका फाल्गुनन्दको न्वारनमा नरध्वज लिङ्देन नाम राखिएको थियो । तर, बाल्यकालमा सिकिस्त बिरामी भएपछि उहाँलाई बाबुले फलामका चुरा बनाएर हातमा लगाइदिएपछि उनको नाम फलामसिंह रहन गयो । पछि बेलायती सेनामा भर्ती हुन जाँदा फलामसिंहलाई परिवर्तन गरेर उहाँको नाम फाल्गुनन्द रहेको हो ।

आठ वर्षको उमेरमा नै हत्या र हिंसाको विरोधमा फाल्गुनन्दले आफ्ना धारणा राख्नु भएको थियो । उहाँले नारीजाति सृष्टिकर्ता भएकाले उनीहरुलाई समाजमा उँचो सम्मान दिनु पर्ने, आफ्नो कूलदेवतालाई सदा विहान र बेलुका पूजा आरधना गर्नु पर्ने, माछामासु, मदिरा सेवन गर्न नहुने धारणा राख्नु हुन्थ्यो ।

सेनामा रहँदा पनि साँझ विहान पूजापाठमा लीन रहने भएकाले उहाँलाई उहाँकै साथीहरुले ध्यानी योगी, तपस्वीलगायतका उपनामले बोलाउने गरेका थिए । लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर गुरु फाल्गुनन्दले बेलायती सेनाको जागिरबाट राजीनामा दिनु भएको थियो ।

हत्याहिंसाका विरोधी, सत्य वचन र धर्मकर्ममा निष्ठ, समाज सुधारक महागुरु फाल्गुनन्दको आज परेको जन्म जयन्तीमा उहाँप्रति श्रद्धासुमन !

Facebook Comments Box