मोरङ / मोरङको सुनवर्षी नगरपालिका–९ डाईनियामा रहेको मस्जिदको निर्माणाधिन सेफ्टी ट्यांकीमा निसास्सिएर शनिबार चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मुस्लिम बस्तीस्थित मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न एकपछि अर्को गर्दै भित्र छिरेका उनीहरुको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीका अनुसार मृत्यु हुनेमा सुनवर्षी–९ का २० वर्षीय मोहम्मद फिरोज आलम, २५ वर्षीय सहनवाद आलम, २२ वर्षीय ओसिव आलम र ४५ वर्षीय कपिल आलम रहेका छन् । मृत्यु हुने मध्ये सहनवाद र कपिल बाबु छोरा हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार चारै जनालाई बेहोस अवस्थामा सेफ्टी ट्यांकी भित्रबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल रंगेली पठाइएको थियो । अक्सिजनसहित पुगेको प्रहरी र रंगेलीको टाईम्स अस्पतालका चिकित्सक टोलीले उनीहरुलाई अचेत अवस्थामा सेफ्टी ट्यांकीबाट बाहिर निकालेको श्रेष्ठको भनाइ छ । उनका अनुसार अक्सिजनको प्रयोग गर्दै सेफ्टी ट्यांकी भित्र छिरेकाहरुले डोरीले बाँधेर भित्र बेहोस अवस्थामा रहेका सबैलाई बाहिर निकालेका थिए ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ । मृतकका आफन्त र स्थानीय बासिन्दाले उपचारमा ढिलाई गरेको भन्दै रंगेली अस्पताल परिषरमा केही बेर प्रदर्शन समेत गरेका थिए ।

Facebook Comments Box