दमक/ झापाको मेचीनगर नगरपालिका –६ काकडभिट्टामा आइतबार बिहान भएको आगलागीमा दुई घर जलेर खरानी भएका छन । आगलागीबाट स्थानीय पासाङ तामाङ र नारायण तिम्सिनाको घर पूर्ण रुपमा जलेर नष्ट भएका प्रहरीले जनाएको छ । बिहान ९ बजेबाट सुरु भएको आगो निभाउनका लागि विर्तामोडबाट दमकल पुगेको भएपनि केही क्षणमा नै घर जलिसकेका थिए । मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले आगो निभाउन बिर्तामोड नगरपालिकाको दमकललाई खबर गरिएको थियो ।
बिर्तामोडको दमकल त्यहँँ पुग्दा स्थानीयले बालुवा र पानी खन्याएर आगो निभाइसकेका थिए । मेची नगर नगरपालिकाको दमकल नहुँदा घर जलेर नष्ट भएको भन्दै स्थानीयहरुको एक समुहले मेचीनगरपालिकाका मेयर र उपमेयर विरुद्ध सडकमा आगो बालेर नाराबाजी गर्दै आक्रोश पोखेका छन । विद्युत सट भएर आगो लागेको प्रहरीले जनाएको छ । मेची नगरमा नै रहेको मगमग चाउचाउको उद्योगमा दुई दिन अघि भएको आगलागीका कारण ठुलो नोक्सानी भएको थियो ।
