दमक/ नेपालको दिगो विकास र आत्मनिर्भरताका लागि सहकारी क्षेत्र बलियो हुन जरुरी रहेको विज्ञ एवम् सहकारी अगुवाहरुले बताएका छन् ।
दमक स्थित मेची सहकारी संस्थाले आफ्नो रजत जयन्तीको अवसर पारि आयोजना गरेको प्रदेश १ स्तरीय गोष्ठिमा विज्ञहरुले सो कुरा बताएका हुन् । उनीहरुले सरकारको तीन खम्बे आर्थिक नीतिमा सहकारी समेत रहेको स्मरण गर्दै राज्यका तीनै ओटा खम्ब बलियो भए मात्र अर्थतन्त्र पनि बलियो हुन सक्ने धारणा राखे ।
कार्यक्रममा नेपालमा विद्यमान सहकारी कानून र कार्यान्वयनका चुनौती विषयमा बागमती प्रदेश, सहकारी मन्त्रालयका सचिव बलराम निरौलाले कार्यपत्र पेश गर्नु भएको थियो । सहकारी महासंघका सञ्चालक शिवकुमार डाँगीको अध्यक्षतामा भएको सो शत्रमा सहकारी अगुवा रामचन्द्र उप्रेतीले कार्यपत्र माथि टिप्पणी गर्नु भएको थियो ।
यस्तै राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रकुमारी थाम्सुहाङ्ले सहकारी अभियानको वर्तमान अवस्था, चुनौती र सम्भावना विषयको कार्यपत्र पेश गर्नु भयो । यस्त कार्यपत्रमाथि सहकारी अगुवा रमेशप्रसाद पोखरेलले टिप्पणी गर्नु भयो भने खेम पाठकको अध्यक्षतामा सो शत्र सञ्चालन भएको थियो ।

दुई दिन चल्ने कार्यक्रम शुरु हुनु अघि प्रभात फेरी निकालिएको थियो । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षता र सहकारी अभियन्ता एवम् पूर्वगृह राज्यमन्त्री दिपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा प्रदेश १ का अधिकांश जिल्लाका सहकारीकर्मीहरुको सहभागीता रहेको छ ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले सदस्य र समुदाय केन्द्रित भई संस्थाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो । यस्तै स्वागत मन्तव्य राख्ने क्रममा बरिष्ठ उपाध्यक्ष पदम थापाले झापा, मोरङ् तथा ईलामका विभिन्न स्थानमा सेवा केन्द्र स्थापना गरि संस्थाले कारोवार र सेवा विस्तार गर्दै आएको बताउनुभयो । पूर्वी नेपालकै बढि कारोवार गर्ने मध्येको एक मेची सहकारी संस्थाले सहकारी एकिकृत बस्तिको योजना समेत सञ्चालन गरि रहेको संस्थाका सचिव राजेन्द्र दाहालले बताउनु भयो । सो बस्ति यसै वर्ष भित्र सम्पन्न गर्ने संस्थाको लक्ष्य छ ।