दमक/ शुक्रबार होली पर्व दमक र गौरादहमा विशेष महत्वसाथ कार्यक्रम गरी मनाइएको छ । विभिन्न संघ संस्थाले दमकको गणतन्त्र चोकमा आयोजना गरेको बृहत होली मिलन कार्यक्रममा स्थानीय युवा युवतीहरु संयौंको संख्यामा भेला भए ।
उनीहरुले अघिल्ला दुई बर्ष कोरोना महामारीका कारण होली मनाउन नपाएकोमा यो बर्ष सहजता भएकाले होली विशेष कार्यक्रमलाई महत्वसाथ मनाइएको प्रतिक्रिया दिइरहेका थिए ।
ध्रुवतारा स्पोर्टिङ क्लब र साथीभाई समुहले सो कार्यक्रम आयोजना गरेका थिए । त्यसैगरी नेपाली कांग्रेस झापा क्षेत्र नं ५ अन्तर्गतका दुइ वटै प्रदेश सभा क्षेत्रले अलग अलग कार्यक्रम गरी शुभकामना आदनप्रदान गरेको छ । क्षेत्र नं ५ क ले गौरादह बजारमा आयोजना गरेको होलि मिलन तथा बृहत सांगितिक कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति जिवन राईको सभापतित्व रहेको थियो भने प्रतिनिधि सभा सदस्य समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा कांग्रेसका नेता , कार्यकर्ता, शुभचिन्तक, समर्थक सर्वसाधारणहरु ठुलो संख्यामा सहभागी भएका प्रदेश सभा क्षेत्र क का उपसभापति आत्माराम राजवंशीले जानकारी दिए । त्यसैगरी प्रदेश सभा क्षेत्र खको आयोजनामा दमकमा भएको कार्यक्रमको सभापतित्व पार्टीका क्षेत्रीय सभापति रवि केसीले गरेका थिए ।
सो कार्यक्रममा समेत सांसद लिम्बुको प्रमुख आतिथ्य रहेको थियो भने प्रदेश समिति सदस्य रेगिना भट्टराई, चन्द्रा खडका, पार्टी जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी , महाधिवेशन प्रतिनिधि मेदनी सिटौला लगायत जिल्ला, क्षेत्र , नगर तथा वडा समितिका नेता, कार्यकर्ताहरु सहभागी भएका थिए ।
होली पर्व हिजोबाट शुरू भएपनि आज तराईका जिल्लामा होली पर्व धुमधामसाथ मनाइएको हो ।
त्यसैगरी पुर्वको प्रमुख केन्द्र विराटनगरसहित इटहरी, इनरूवा, उर्लाबारी, गौरीगञ्ज, बिर्तामोड, भद्रपुर , धुलाबारी र काँकडभिट्टा लगायतका क्षेत्रमा पनि भव्य रुपमा होली विशेष कार्यक्रमहरु आयोजना गरिएका जनाइएको छ ।


