दमक/नयाँ बर्ष २०७९ मा दमकबासीले नेपथ्य संगीत समुहको प्रस्तुती उपहार स्वरुप पाउने भएका छन ।
नेपाल टच अष्ट्रेलियाको समेत सहयोग पाएपछि ध्रुवतारा ध्रुबतारा स्पोर्टिङ क्लब दमकले सो समुहलाई सांगितिक उपहार प्रस्तुत गर्नका लागि निम्ताएको हो ।
सो क्लबको आयोजनामा दमक ९ स्थित सरस्वती माबिको प्राङगणमा हुने सांगितिक कार्यक्रमका बारेमा क्लबले आज ( मंगलबार) पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
आयोजक क्लबका सचिब हिरामणी खडकाले क्लबको स्थापनाकालदेखिनै गरिदैं आएका विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने क्रममा सो कार्यक्रम आयोजना गरिएको बताए । उनले क्लब सञ्चालन सहयोगार्थ समेत उद्धेश्य राखेर कार्यक्रम आयोजना गरिएको बताए ।
क्लबका अध्यक्ष मोहन मगरले लाईभ कन्सर्टको प्रवेश शुल्क सबैका लागि समान जनही १ हजार रुपैँया तय गरिएको बताए । दमक स्थायी घर भई अष्ट्रेलियामा बस्दै आएका गायक राजकुमार गोश्वामीको विशेष सक्रियतामा सो कार्यक्रम तय भएको जनाइएको छ । गोश्वामीले नयाँ बर्षमा आफनो ठाउँका लागि केही नयाँ उपहार दिनका लागि नेपालकै चर्चित ब्याण्ड नेपथ्यलाई निम्तो गरिएको बताए । उनले कोरोना महामारीका कारण बृहत किसिमका कुनै सांगितिक कार्यक्रम हुन नसक्दा लामो समयदेखि बढेको सांगितिक तृष्णा मेटाउन सो लाइभ कन्सर्ट गर्ने जमर्को गरिएको पनि गोश्वामीले बताए । कन्सर्टको पहिलो टिकट ध्रुबतारा स्पोर्टिङ क्लवका संस्थापक अध्यक्ष समेत रहेका दमक ८ का वडा सदस्य भीमराज चौलागाईले खरिद गरेर शुभारम्भ गरेका छन् ।
नेपथ्य संगीत समुह अर्थात् नेपथ्य ब्याण्ड नेपालको चर्चित ब्याण्ड हो । यसका प्रमुख गायक अमृत गुरूङ हुन् । छेक्यो छेक्यो देउराली डाँडा देखि सा कर्नाली सम्मका चर्चित गीतहरू यो समुहले गाएको छ । लोक भाकाका गीतलाई त्यसको मेलोडी नमारी युवा पुस्ताले रूचाउने किसिमका पप शैलीमा गाउनु यो समुहको विशेषता हो ।