दमक/ दमक ५ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था १० औं बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको छ । २०६९ सालको बैशाख ८ मा तत्कालिन दमक ११ स्थित थाना रोडमा भाडामा कार्यालय सञ्चालन गर्दै कारोबार शुरु गरेको यो संस्थाले हाल दमक ५ बेलडाँगी रोडस्थित आफनै स्वामित्वको सुविधा सम्पन्न भवनबाट कारोबार गरिरहेको छ ।
संस्थाले एक बर्ष अघि मात्रै आफनै स्वामित्वको भवनमा कार्यालय सञ्चालनमा ल्याएको हो । ११ औं बर्ष प्रवेशको पूर्वसन्ध्यामा संस्थाका अध्यक्ष दिपक खरेलले सहकारीका माध्यमबाट स्थानीय आर्थिक बिकासमा योगदान पुरयाउने संस्थाको मुल उद्धेश्य रहेको स्मरण गरेका छन । उनले यस अवसरमा सम्पूणर् शेयर सदस्य तथा कर्मचारी एवं सहयोगी शुभेच्छुक उद्योगी व्यवसायीहरुमा आभारसहित कृतज्ञता व्यक्त गरेका छन ।
संस्थाले बार्षिकोत्सवको अवसर पारेर यस पटक कन्काई कोटीहोममा रहेको बृद्धआश्रममा खाद्यन्न वितरण गर्ने र शैक्षिक अवलोकन भ्रमण गराउने कार्यक्रम रहेको संस्थाका व्यवस्थापक नवराज बाँस्तोलाले जानकारी दिए ।
संस्थाले पछिल्लो समय विश्व अर्थतन्त्रमा आएको जटिलताका बाबजुद सहजतापूर्वक कारोबार गर्दै आएको बाँस्तोलाले जनाए । संस्थामा गत चैत मसान्त सम्ममा ७ करोड ११ लाख ७५ हजार रुपैयाँ शेयर पुँजी रहेको छ भने बिभिन्न कोषहरुमा ४ करोड ५६ लाख ९६ हजार ८३९ रुपैयाँ जम्मा रहेको संस्थाका सेवा कार्यलय फाँटका इञ्चार्ज धर्मानन्द भट्टराईले जानकारी दिए ।
संस्थाले गत चैत मसान्त सम्ममा ६५ करोड ३५ लाख ७४ हजार रुपैयाँ कर्जा लगानी ७४ करोड ७४ लाख ९३ हजार रुपैयाँको वासलात तयार गरेको उनले जनाए । ६ हजार ५ सय १० जना सदस्य रहेको संस्था मातहत ५ वटा सेवा केन्द्र सञ्चालनमा छन भने कूल ५२ जनाले रोजगारीको अवसर पाएका छन ।
सामाजिक काममा योगदान
संस्थाले यस क्षेत्रमा आर्थिक कारोबारसंगै समाजको अभिन्न अंगका रुपमा आफूलाई उभ्याउन सफल भएको छ । संस्थाले हरेक बर्ष बार्षिकोत्सवका अवसरमा गर्दै समाजमा रचनात्मक कार्यहरु गर्दै आएको संस्थाका सचिव ज्ञाननाथ पौडेलले बताए ।
संस्थाले हाल सम्म अपाङगता भएकाहरुलाई ह्वीलचेयर वितरण, अपाङग सहयोग समिति र पत्रकारहरुको संस्थालाई इन्भर्टर, आम्दा अस्पतालका बिरामीलाई फलफूल वितरण, केर्खा बजार सरसफाई, हरित दमक निर्माणका लागि वृक्षारोपण, खेलकुदको बिकासका लागि दमक लखनपुर भेट्रान क्लबलाई सहयोग, रक्तदानसहित रेडक्रसमा प्राविधिक सहयोग, अग्नी पीडित, भुकम्प पीडितहरुलाई राहत कोरोना प्रभावितहरुलाई स्थानीय सरकार मार्फत राहत हस्तान्तरण लगायतका कामहरु गरिआएको छ ।