मणिराज धिमाल दमकको साविक वडा नं ९ अर्थात अहिलेको वडा नं ४ का स्थायी बासिन्दा हुन् । २०३७ साल असोज १३ गते दमकको हाल वडा नं ९ मा बुबा दिपलाल धिमाल र आमा बासिनी धिमालको कोखबाट जन्मिएका धिमालले प्रारम्भिक शिक्षा विद्योदय निमाविबाट लिएका हुन भने सरस्वती माविबाट एसएलसी उत्तिर्ण गरेका हुन ।
सानै उमेरदेखि पढाईसंगै सामाजिक तथा राजनीतिक गतिबिधिमा समेत क्रियाशील उनले अहिले दमक ४ का निर्वाचित जनप्रतिनिधिका रुपमा वडा सदस्यको जिम्मेवारी सम्हालिरहेका छन् । उनी २०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधि पनि हुन् ।
उनी धिमाल जातीय विकास केन्द्र झापा जिल्ला समितिका सचिव, नेपाल आदिवासी जनजाती महासंघ दमक नगर समन्वय परिषदको सचिव र प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका कोषाध्यक्ष पनि छन् । उनी कला संस्कृति संरक्षण मञ्च झापाको अध्यक्ष समेत छन् । प्रस्तुत छ उनीसंगको कुराकानीको निष्कर्ष ः

२ बर्ष हुनै लाग्यो जनप्रतिनिधिको रुपमा आउनु भएको जनताका कामको सिलसिलामा कस्तो अनुभव गरिरहनु भएको छ ?

म पहिल्यैपनि राजनीतिक, सामाजिक प्रतिनिधिका रुपमा नै थिएँ । यद्यपी निर्वाचित जनप्रतिनिधिका रुपमा पनि पहिल्यै जिम्मेवारी सम्हाल्न थालेको २ बर्ष हुनै लागेको छ । निर्वाचित जनप्रतिनिधि भईसकेपछि जिम्मेवारी थप भएरनै आएको छ । मैंले जनताको कामका सिलसिलामा आम जनतामा निर्वाचन अघि जति धेरै समस्याहरु थिए हामी जनप्रतिनिधि आईसकेपछि धेरैनै समाधान भएको महसुस गरिरहेको छु । निर्वाचनका बेला हामीलाई जनताले अनुहार हेरेर मात्रै जिताउनु भएको होइन कामको आवश्यकता र त्यसलाई पूरा गर्न सक्ने क्षमता छ भन्ने विश्वासका साथ जिताएर पठाउनु भएको हो । विकासका सन्दर्भमा त भन्नुहुन्छ भने जनप्रतिनिधि आईसकेपछि र पहिलेको अवस्थामा आकाश पातालको फरक छ भने पनि हुन्छ ।
पूर्वाधार विकासको त झन कुरै नगरौं । त्यसबाहेक जातीय पहिचान, संस्कार, संस्कृति संरक्षण, आत्मनिर्भरताका लागि स्वरोजगारका कार्यक्रमहरुलाई हेर्दा वडा कार्यालयदेखि केन्द्रिय सरकार सम्मबाट यहाँ योजनाहरु चलेका छन् ।
हाम्रो वडा र अन्य वडामा समेत धिमाल ग्रामथानहरुमा मात्रै विभिन्न शीर्षकमा झण्डै ३ करोड रुपैयाँ बजेट विभिन्न तहबाट विनियोजन भएर कार्यान्वयनको चरणमा छ । धिमाल बस्तीमा ग्रामथानको संरक्षण मात्रै होइन पर्यटकीय विकासका लागि मिनि चिडियाघर बनाउने सम्मका योजनाहरु कार्यान्वयन भईरहेका छन । समग्रमा हाम्रो लागि यो २ बर्ष उत्साहप्रद र आशातित रुपमा वितिरहेको छ ।

तपाइँको वडाबासीको समस्या चाहिं के पाउनु भयो ?

समस्या नै छैन त भन्न मिल्दैन । तर विकासका योजनाहरुको अभाव चाहिं छैन । यहाँका योजनाहरुको फेहरिस्त थाहा हुने जो कोहीले त्यो कुराको महसुस गर्न सक्नु हुन्छ । कतिपय राष्ट्रिय मुद्धाहरु जसले तल्लो तह सम्म अर्थात जनताका घरदैलोमा नै अर्थ र महत्व राख्छन त्यस्ता बिषयमा केहि समस्याहरु पनि छन । जस्तो कि नागरिकता । गम्भिर बिषय पनि भएकाले नागरिकता सिफारिसका आधारहरु कतिपय कम्जोर भईदिँदा हामी जनप्रतिनिधिहरु पनि के गर्ने के नगर्ने ? बिषयमा बेला बेला अलमलमा परिरहेका छौं । शिक्षाका दृष्टिकोणबाट हेर्ने हो भने हामीले वडामा केहि सुधारका कामहरु अघि बढाएका छौं । पुराना सामुदायिक विद्यालयहरु मध्येमा पर्ने कृष्ण आधारभुत विद्यालयमा यसै शैक्षिक सत्रदेखि माध्यमिक तहको पठनपाठन गराउन गईरहेका छौं । यसको स्तरोन्नतीका लागि विद्यार्थी बोक्ने बसनै सञ्चालन गर्नुपर्ने हो कि भन्ने सोचाईमा हामी पुगेका छौं । जनचेतना स्कूल जहाँ म आफैं अध्यक्ष पनि छु । त्यहाँ पनि विद्यार्थीको संख्या बढाउन र गुणस्तरीय शिक्षाका लागि हामीले प्रयासहरु गरिरहेका छौं । विद्यार्थीको सहजताका लागि केहि नभएपनि सिटी सफारीमा ओसारपसार गर्नुपर्ने हो कि भन्ने सोचाईमा हामी छौं ।

तपाइँहरु जनप्रतिनिधिको जिम्मेवारीमा आएपछि नगरबासीले करको भार बढी ब्यहोर्नुपरेको गुनासो छ नि ? त्यो चाहिं समस्या होइन ?

कर बढाएको बिषय प्रतिपक्षीहरुले सदनदेखि यहाँ गाउँघर सम्म चर्कै रुपमा उठाएको बिषय मात्रै हो । कर नबढेको होइन बढेको हो तर कर मात्रै बढेको छैन । यसको अनुपात स्वभाविक दरमा छ ।
सेवा सुविधा, विकासका पूर्वाधारहरुको उपयोगका तुलनामा अहिले नगरपालिकाले विभिन्न शीर्षकमा लिएको कर नाजायज छैन । यो वास्तविकता नगरबासीहरुले पनि बुझिसक्नु भएको छ । र हाम्रो वडाका वडाबासीहरुले पनि यसलाई स्वभाविक रुपमा लिनु भएको र अहिले करको बिषय सामान्य बनिसकेको छ ।

तपाइँ आदिवासी जनजाती महासंघको नेतृत्वमा पनि हुनुहुन्छ दमकमा आदिवासी जनजाती संग्राहालयको योजना के भईरहेको छ ?

सबै जातजाती भाषाभाषीको सम्बोधन गर्दै संग्राहालय निर्माणको प्रकृया अघि बढाइएको छ । आदिवासी जनजाती बहुसाँस्कृतिक संग्राहालयको रुपमा यसलाई विकास गरेर लैजाने सहमति अनरुप काम भईरहेको छ ।

महासंघले आफ्नो गर्वलायक उपलब्धीमुलक काम के गरेको छ ?

हामी महासंघको नेतृत्वमा रहेर सक्रिय भुमिका निर्वाह गरेकै कारण स्थानीय सरकारले आदिवासी जनजाती महासंघको एउटा घटक जाति धिमाल जातिलाई दमकको पहिलो नागरिक घोषणा गर्ने काम गर्यो । यसमा हाम्रो महासंघको सकारात्मक पहल रहेको थियो भने धिमाल जाति विकास केन्द्र त यसका लागि अति नै महत्वपूर्ण भुमिकामा रहेको थियो । हामीले पहिलो नागरिक घोषणा पछि पनि केन्द्र र प्रदेश सरकार समक्ष धिमालहरुलाई पहिलो नागरिक घोषणा गरेर आत्मसम्मान त मिलेको छ तर यतिले मात्रै आम धिमाल समुदायका नागरिकहरुको आर्थिक, सामाजिक , राजनीतिक परिवर्तन हुन सक्दैन यसका लागि विशेष अधिकार प्रदान गरिनुपर्छ भनेर हाम्रो जातिय संस्था र सिंगो महासंघपनि केन्द्र र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराउन लागि परेको छ ।हामी हाम्रो विवेक र क्षमताले भ्याएसम्म हामी सदैव सबै जातजाती र भाषाभाषीको उत्थान , विकास र संरक्षणमा लागि परेका छौं ।

धिमाल बस्तीहरुलाई आधार मानेर पर्यटकीय क्षेत्र विकासको कुरा पनि आएको छ नि ?

करिब ४/५ बर्ष अघिदेखिनै धिमाल संस्कृति संग्राहालयको निर्माण भईरहेको छ । यो नै एउटा यहाँको पर्यटकीय क्षेत्र विकासको आधार हो भने स्थानीय सरकार र प्रदेश सरकार समेतको पहलमा धिमालको ऐतिहासिकता जोडिएका दमकका पाँच स्थानमा पर्यटकीय विकासका लागि काम भईरहेको छ । अघिनै मैंले भनिसके झण्डै ३ करोड रुपैयाँ बजेट वडादेखि केन्द्र सरकार सम्मले यहाँको पर्यटकीय विकास लगायतका योजनाहरुमा विनियोजन गरेका छन । पर्यटकीय क्षेत्र विकासका साथै नेतृत्व र व्यक्तित्व विकासका लागि पहिलो आधारका रुपमा रहेको आर्थिक बिषयलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । कृषि तथा अन्य परम्परागत भेषभुषाको संरक्षण गर्दै आय आर्जनमा बृद्धिका लागि पेटानी बुन्नेदेखि अन्य विभिन्न किसिमका आयआर्जनका कार्यक्रमहरु पनि हामीले ल्याएका छौं ।

Facebook Comments Box