दमक/ धान रोप्ने बेलामा रासायनिक मल पाउन नसक्दा झापाका किसान मारमा परेका छन् । हरेक खेतीको समयमा रासायनिक मलको अभाव भोग्दै आएका किसानलाई यस वर्षको धान खेतीका लागि पनि मलको अभाव भएको हो ।
धान रोप्ने बेलामा खेतमा लगाउनु पर्ने डिएपी मल पाउन नसक्दा किसान चिन्तासँगै मारमा परेका हुन् । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्न समेत मल नपाउँदा किसान झन झन गरिव हुनु पर्ने बाध्यता रहेको झापा कमल ६ का किसान ख्याम आचार्यले बताए । यस वर्ष समेत धान रोप्ने समय हुँदा पनि डिएपी मल पाउन नसकेको उनको भनाई छ ।
कमल गाउँपालिकाका लागि एक हजार बोरा डिएपी मल कोटामा छुटिएको गाउँपालिका कृषि शाखाले जनाएको छ । शाखा प्रमुख महेन्द्र बोहोराले कृषि सामाग्री कम्पनीबाट प्राप्त हुने सो मल विभिन्न सहकारी संस्था मार्फत किसानलाई उपलव्ध गराईने जनाएका छन । तर सहकारी संस्थाले मागको तुलनामा न्युन परिमाणको सो मल वितरण गर्ने कठिन हुने बताएका छन् । कमल ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक टंक पराजुलीले धान रोपाईका बेला उच्च माग हुने डिएपी न्युन परिमाणमा आएका कारण किसानको माग थेग्न समेत कठिन भएको जनाएका छन ।