दमक/ किराँत राईहरुको परम्परागत संस्कृति झल्किने साकेला सिलीमार्फत पूर्वका किराँतीहरुले प्रदेश एकको नामाकरणमा खबरदारी गरेका छन ।
किराँत राई यायोक्खा झापाको आयोजनामा शनिबार (आज) झापाको कमलमा आयोजित जिल्लास्तरीय साकेला सिली समापनमा उनीहरुले त्यस्तो खबरदारी गरेका हुन ।
बर्षौदेखि हरेक बर्ष उभौंली पर्वका अवसरमा कमल गाउँपालिका ५ स्थित सितापुरीमा प्रकृति पूजासहित सञ्चालन गरिँदै आएको साकेला सिली नाचसहितको साँस्कृतिक कार्यक्रमलाई यायोक्खाले यो बर्षपनि निरन्तरता दिदैं पहिचानको मुद्धामा केन्द्रित भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश एक सरकारका सामाजिक बिकास मन्त्री राजन राईले किराँत सभ्यतासंग जोडिएको किराँत प्रदेश नामाकंन गर्न आफूहरु तयार रहेको बताए । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका मन्त्री राईले प्रदेश संसदमा दुई तिहाई बहुमत पक्षधरहरु प्रदेशको नामाकरणमा अल्मलिएको बताउँदै आफु र आफनो पार्टी समेत एक नम्बर प्रदेशलाई किराँत प्रदेश नामाकरण गर्न तयार रहेको बताए ।
सरकारको नेतृत्वकर्ता हुनुका नाताले आउँदो १ असारमा आउने बजेट तथा कार्यक्रम लगत्तै प्रदेश संसदमा प्रदेश नामाकरणको प्रस्ताव टेवल गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले पहिचान र भुगोल समेतलाई जोडेर पनि प्रदेश एकको नामाकरण गर्न सकिने पनि उल्लेख गरे ।
किराँत राई यायोक्खा मार्फत प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सबै दलका किराँती नेता कार्यकर्ताहरुले पहिचानसहितको प्रदेशको नामाकरणलाई अस्विकार गर्ने दल परित्यागको घोषणा गरेर समेत दलहरुलाई नामाकरणमा दबाब दिन सक्ने उनले सुझाए ।
कार्यक्रममा किराँत राई यायोक्खाका महासचिव अर्जुनजम्नेली राईले किराँत जाती नभई सभ्यतासंग समेत जोडिएकाले यो नाम अस्विकार गर्नु दलहरुको मुर्खता भएको बताए । उनले भने– अबको २० औं बर्षमा किराँत शब्द अस्विकार गर्ने दलहरु रहलान नरहलान तर किराँत सभ्यता युगौं युग सम्म रहन्छ ।
कार्यक्रममा आदिवासी जनजाती महासंघका पूर्व केन्द्रीय महासचिव नित्यानन्द ताजपुरिया, आदिवासी जनजाती महिला महासंघकी नेतृ सुमित्रा वाङदेल चेली , यायोक्खा प्रदेश एकका अध्यक्ष पारसमणी राई लगायतले पनि सम्बोधन गर्दै पहिचानसहित प्रदेश एकको नामाकरणमा जोड दिए ।
सो अवसरमा झापाका विभिन्न पालिका तथा वडाहरुबाट यायोक्खाको प्रारम्भिक समितिका किराँतीहरुको मौलिक पहिचान झल्किने साकेला नाचको प्रतियोगिता सञ्चालन गरिएको थियो भने झापा बाहिर तथा भारतको बागडोगरा लगायतका ठाउँहरुबाट पनि पहिचान झल्किने किसिमका परम्पारगत बाजागाजा सहित साँस्कृति कार्यक्रमहरु प्रस्तुत गरिएको यायोक्खाका केन्द्रीय सदस्य दिपेनवाला राईले जानकारी दिए ।
यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङको सभापतित्वमा भएको कार्यक्रममा सहभागी नृत्य समुहलाई प्रोत्साहन स्वरुप मायाको चिनो प्रदान गरिएको थियो भने झापाका विभिन्न पालिका तथा वडाहरुमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ । कार्यक्रमस्थलमा विभिन्न खेल तमासाका अतिरिक्त मनोरञ्जनका कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो ।





