दमक/झापाको कमल गाँउपालिकाले कृषि विकासलाई प्राथमिकता दिदैं आर्थिक बर्ष २०७६/७७ का लागि करिव रु ६२ करोड २९ लाख बढीको अनुमानित बजेट पारित गरेको छ । हालै सम्पन्न गाउँ सभाबाट पारित वजेट, नीति तथा कार्यक्रम गाँउपालिकाले सोमबार सार्वजनिक गरेको हो ।
प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले गाँउपालिकाको रु ६२ करोड २९ लाख ९२ हजारको वजेट सार्वजनिक गरिन् ।
सार्वजनिक गरिएको वजेटमा आन्तरिक स्रोतसहित संघीय तथा प्रदेश सरकारको वजेट समावेश छ ।
‘कृषिको विकास कमल गाँउपालिकाको निकास’भन्ने लक्ष्यका साथ वजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर ‘अध्यक्ष कृषि पकेट विकास कार्यक्रम ’ सञ्चालनमा ल्याएर कृषिमा आधुनिकरण गरिने वजेटमा उल्लेख छ ।
वजेटले आर्थिक विकासतर्फ कृषिसंगै पशु,सहकारी,उद्योग वाणिज्य,पर्यटन तथा सामाजिक विकासतर्फ खानेपानी सरफाई, स्वास्थ्य,लक्षित वर्ग,सार्वजनिक महत्वका विषयमा समेटिएको छ ।
यसैगरि वजेटले पूर्वाधार विकासतर्फ सडक ,कल्र्भट,विद्युत ,वस्ती विकास तथा वातावरणका क्षेत्रमा समेत प्राथमिकता दिईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज ढकालले बताए ।
कार्यक्रममा गाँउपालिकाले गएको वर्ष उत्कृष्ठ कार्यसम्पादन गरे वापत गंगामाया दनुवारलाई रु ३० हजार,मेडल तथा प्रमाणपत्रसहित उत्कृष्ठ कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै २० हजार राशीको उत्कृष्ठ कर्मचारी पुरस्कारवाट निर्मला गौतम भण्डारीलाई समेत पुरस्कृत गरिएको थियो । वजेट सार्वजनिकरण कार्यक्रममा उपाध्यक्ष वेणु शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत ढकाल, वडाध्यक्षहरु,सदस्यहरु ,विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खानेपानीलाई उपेक्षा
यसैबीच कमल गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि खानेपानीमा बजेट विनियोजन गरेको छैन । स्वच्छ खानेपानी पूर्याउने सरकारको नीति अनुसार अघि बढ्ने भनिएपनि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र खानेपानीको पूर्वाधार निर्माण वा मर्मत सम्भार कुनै शीर्षकमा बजेट विनियोजन नगरेको पाइएको हो ।
लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष उषा भण्डारीले खानेपानी जस्तो संवेदनशील तथा आधारभुत आवश्यकताका बिषय स्थानीय सरकारको प्राथमिकतामा नपरिनु दुर्भाग्य भएको प्रतिक्रिया दिइन् ।
उनले भनिन–खानेपानी विभाग र अन्य निकायहरुबाट सो क्षेत्रमा खानेपानीका योजनालाई चासोका साथ हेरिरहेको बेला स्थानीय सरकारले भने बजेट नछुट्याउनु दुखद हो । कमलको साविक तोपगाछीमा २ वटा र लखनपुरमा एउटा खानेपानी योजना सञ्चालनमा छ ।
लखनपुर खानेपानीले सरकारसंगको सहलगानीमा निर्माण गरेको कमल ६ स्थित खानपानी योजनाबाट परीक्षणका लागि भर्खरै पानी वितरण थालिएको छ । लखनपुरको उत्तरी क्षेत्र र दक्षिण क्षेत्रमा खानेपानीको चर्को समस्या छ ।
कमल ६ बाट गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेद्वार समेत रहेका नेपाली कांग्रेसका प्रत्यासी एवम् लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य प्रमोद दाहालले गाउँपालिकाको बजेट तथा कार्यक्रम ठोस परिणाममुखी हुने नदेखिएको प्रतिक्रिया दिए । उनले भने –खानेपानी जस्तो आधारभुत र घरघरमै बिहान बेलुका नभई नहुने अनिवार्य आवश्यकतालाई स्थानीय सरकारले प्राथमिकता दिएको देखिएन ।