दमक / हिन्दु परम्परा अनुसार ब्राह्मण र क्षत्रिय पुरुषहरूले यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु–पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ । जनै काँधमा भिर्नुलाई अब पर्न आउन सक्ने सबै जिम्मेवारी पुरा गर्ने संकल्प वा संकेतका रुपमा पनि लिइन्छ ।
जनै लगाउनुको अर्थ
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुई वटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्काे शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
अनन्त प्रेमको संकेत रक्षा बन्धन
दिदीवहिनीहरुले आफ्ना दाजु–भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ ।
नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, ूरक्षाू र ूबन्धनू। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ सुरक्षाको गाँठोू हुन्छ। यो चाड दाजुभाइ–दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो।
यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ। त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन ।
गाई जात्रामा के के गरिन्छ ?
आजको दिन यमराज अर्थात मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिर सहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरू ठाउँ र सहरमा पनि गाई जात्राको मनाइँदै आइएको छ । हास्य कलाकारहरु आ–आफ्ना प्रहसन, व्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचारी, सिपाही र चिया पसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै आइएका समाजका विकृति, घटना, परिघटनाको हास्यास्पद सारांश हो गाईजात्रा । काठमाडौँ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र जमघट रहन्छ । पछिल्ला समयमा ुसिस्नु पानी नेपालुले गाईजात्रा विशेष कार्यक्रममा राजनैतिक व्यक्तित्वलाई डाँकेर आम नागरीकहरूको बिचमा उनीहरूकै सामु उनीहरूकै राम्रा र नराम्रा पक्षहरू सबले सुन्ने गरी, देख्ने गरी व्यङ्ग्यात्मक अभिनयसहितको वास्तविक चित्र कोर्ने गर्दछन् । यस्ता गाईजात्रा विशेष कार्यक्रमहरू १० देखि १५ दिनसम्म चल्दछन् ।