दमक/ दमक नगर क्षेत्रमा भू उपयोग सम्बन्धि सरकारको नीति अनुसार जग्गाको वर्गीकरण गर्ने काममा ढिलाइ हुँदा घर जग्गाको कारोबार सहज हुन नसकेको सरोकारवालाहरुले जनाएका छन ।
यहाँको जग्गाको वर्गीकरणमा ढिलाई भएकै कारण जग्गाको कित्ताकाट ( खण्डीकरण) का लागि कानुनी अडचन फुक्न नसकेको सरोकारवालाहरुको जिकिर छ ।
बुधबार दमक नगरपालिकामा दमकका घर जग्गा व्यवसायीहरु र नगरपालिका प्रमुख रामकुमार थापासहित भुमी सम्बन्धिका सरकारी अधिकारीहरुबीच सो बिषयमा गम्भिर छलफल समेत भएको छ ।
छलफलमा सरकारले ल्याएको भू उपयोग सम्बन्धि नीति २०७६ र नियमावली २०७९ अनुसार जग्गाको वर्गीकरण वडा तहमानै गरेर वडा तहकै नयाँ भौगोलिक नक्सा कायम गर्नुपर्ने र कित्ताकाट सम्बन्धिको मापदण्ड नगरपालिकाले तय गरी सो मापदण्ड सम्बन्धित विभागको माथिल्लो निकायबाट स्वीकृत गराएर मात्रै कित्ताकाटको बाटो खुल्ने पनि अधिकारीहरुले स्पष्ट पारेका छन ।
उनीहरुले यसअघि जस्तो वर्गीकरण नगरी जग्गाको कित्ताकाट नगर्ने सरकारको नीति विज्ञहरुको राय, सुझावका आधारमा आएको भन्दै त्यसको कार्यान्वयनबाट सरकार पछि हटन सक्ने अवस्था नरहेको पनि संकेत गरे ।

मालपोत कार्यालय दमकका प्रमुख हिमालय बरालले भने सरकारले यो कदम त्यति चालेको होइन , कृषि विज्ञ र कृषि क्षेत्रको जग्गालाई जोगाइ राख्नुपर्छ भन्ने समुह पनि ठुलो छ वैज्ञानिक आधारमा सरकारले लिएको यो निर्णयबाट सरकार ब्याक होला भन्नेमा मलाई विश्वास छैन । सोही छलफलमा नापी कार्यालय दमकका प्रमुख सुनिल आनन्दले पनि जग्गाको कित्ताकाट खुलाउने बिषय स्थानीय सरकारले गर्ने वर्गीकरणका आधारमा बन्ने मापदण्ड र त्यसलाई स्वीकृत गराउने माथिल्लो तहका सरकार तथा विभागहरुमा भर पर्ने भएकाले त्यसका लागि आफनो कार्यालयका तर्फबाट पर्याप्त सहयोग रहने प्रतिबद्धता जनाए । सरकारी अधिकारीहरुका अनुसार पालिकाहरुलाई २३ मसिंर भित्र जग्गाको वर्गीकरण गरी कित्ताकाटको मापदण्ड तय गरी माथिल्लो तह अर्थात विभागमा पेश गर्ने समय सीमा दिइएको छ । सो समय भित्र वडा तहबाटै जग्गाको वर्गीकरण गरी कृषि, आवास, उद्योग तथा पर्यटन क्षेत्र आदी नखुलाए कित्ताकाट सहज नहुने र जग्गाको कारोबार सहज बन्न नसक्ने जानकारहरुको भनाई छ ।

छलफलमा सहभागी जग्गा कारोबारी व्यवसायीहरुले भने जग्गाको खण्डीकरण अर्थात कित्ताकाटमा सहजता नभए व्यवसायमात्रै नभएर सर्वसाधारणले आपतकालिन अवस्थामा समेत आफनो सम्पत्ति विक्री गर्न नपाउँदा समस्या विकराल बनेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराए । सो अवसरमा व्यवसायीहरुका तर्फबाट कांग्रेस दमक नगर सभापति समेत रहेका प्रकाश प्रसाइँ, टंक सिटौला, राजकुमार दाहाल लगायतले व्यवसायीहरुले भोग्नु परिरहेको समस्याबारे जानकारी गराएका थिए ।
नगर प्रमुख थापाको प्रतिबद्धता
दमक नगरपालिकाले वडागत रुपमा दमकका सबै वडाको भौगोलिक नक्सांकन पूरा गरेर घर जग्गाको कारोबार सहज बनाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
जग्गाको कित्ताकाट र विक्री वितरणमा सहजताको वातावरण बनाउने बिषयमा आयोजित छलफलमा नगर प्रमुख रामकुमार थापाले त्यस्तो प्रतिबद्धता जनाएका हुन ।
उनले यो समस्या देशैभर रहेको बताउँदै सरकारले तोकेको मापदण्ड अनुसार जग्गाको वर्गीकरण गरेर कित्ताकाट खुलाउन नगरपालिकाका तर्फबाट गर्न सकिने कामहरुका बारेमा आफूले सम्बन्धित मन्त्रालय र विभागमा समेत प्रत्यक्ष रुपमै उपस्थित भएर परामर्श लिएको पनि जानकारी गराए ।

नगर प्रमुख थापाले सरकारले यसअघिनै ल्याएको भू उपयोग सम्बन्धि नीति अनुसार सबै वडामा जग्गाको वर्गीकरण गर्ने कामका लागि वडा वडालाई पत्राचार गरिएको र हाल सम्म वडा नं १० र वडा नं ४ ले मात्रै जग्गाको वर्गीकरण गरि प्रतिवेदन दिएको बताए । अन्य ८ वटा वडाले समेत आआफनो वडामा जग्गाको भौगोलिक अवस्थाबारे प्रतिवेदन पठाएपछि नगरपालिकाले विज्ञहरु समेतको राय सुझावका आधारमा कित्ताकाटको मापदण्ड बनाउने र सोको प्रतिवेदन माथिल्लो तहका सरकारमा पठाएपछि सम्बन्धित निकायबाट त्यसलाई अनुमोदन तथा स्विकृत गराएर मात्रै कित्ताकाटको बाटो खुल्ने बिद्यमान कानुनी व्यवस्था रहेको पनि जनाए ।
उनले सो प्रकृयामा लामो समय बित्दा धेरै व्यवसायीहरु मात्रै नभएर सर्वसाधारण समेतलाई परेको असरका बारेमा आफू जानकार भएपनि कानुन माथि आफू नभएकाले कानुनी परिधी भित्र रहेर अपनाउन सकिने उपायहरुका बारेमा सबैले उपयुक्त सुझाव दिन पनि आग्रह गरे । छलफलका क्रममा केही व्यवसायी र नगर प्रमुख थापाबीच जग्गाको कारोबारमा समस्याबारे बहस हुँदा चर्काचर्की समेत परेको थियो । व्यवसायीका कतिपय प्रतिनिधिहरुले कित्ताकाट खुलाएर जग्गा कारोबार सहज बनाउनतर्फ नलाग्ने हो भने मालपोत र नापी कार्यालयको औचित्यपनि नरहेको भन्दै ति कार्यालय बन्द गराउने समेत चेतावनी दिएका थिए ।