दमक/ नेपाली चलचित्र ‘प्रेम गीत ३’ को टिम चलचित्रको प्रमोशनमा नेपाल र भारतका विभिन्न शहरमा जुटेको छ । गत वर्षको चैत २८ गते प्रदर्शनको तयारीमा रहेको यो चलचित्र कोरोना महामारीको कारण प्रदर्शन स्थगित भएको थियो ।
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म प्रेम गीत ३ असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ । पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो । शुक्रबार राष्टिय कलाकार सुनिल थापा (राते काइँला) सहितको सिनेकर्मीहरुको टोलीले दमकमा पत्रकारहरुसंग भेटघाट गरेको छ ।
हिन्दी र नेपाली दुवै संस्करणमा एक महिना अघि सार्वजनिक भएको टिजरमा हिन्दी संस्करणलाई दर्शकहरुले अधिक रुचाएका छन। अधिकांश दर्शकले हिन्दी संस्करणमा डाइलग डेलिभरी राम्रो भएको प्रतिक्रिया दिएका कारण यसले नेपाली सिने जगतमा एउटा इतिहास रच्ने विश्वास गरिएको कलाकार थापाले बताए । उनले दर्शकहरुका लागि दशैंको कोशेलीका रुपमा पनि यो चलचित्र ल्याइएको बताए ।

थापाले आफुहरुको मेहनतको प्रतिफल यो चलचित्रमा नमुनाका रुपमा देखिने बताए । प्रदर्शन अघिको यो चर्चाले नै चलचत्रि सफल भइसकेको प्रमाणित भएको पनि बताए । चलचित्रका कलाकार मनिष राउतले प्रेम गीत ३ चलचित्र विश्वकै उदाहरणीय हुने बताए ।
पत्रकार सम्मेलनमा चलचित्रका बितरक तथा पाथीभरा चित्र मन्दिर दमकका ब्यवस्थापक चैतन्य बरालले प्रेम गीतको नामनै ब्राण्डेड भएको बताउँदै यसमा कलाकारहरुको नाम र चलचित्र निर्माणमा गरेको मेहनत अत्यन्तै प्रशंसनिय रहेको बताए ।
दर्शकको बहुप्रतिक्षित यो चलचित्रमा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, क्रिस्टिना गुरुङ लगायतको अभियान हेर्न सकिन्छ ।

Facebook Comments Box