दमक/ झापाको दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको भोली सोमबार हुने १३ औं बार्षिक साधारण सभाको प्रतिवेदन आज ( आइतबार) सार्वजनिक भएको छ ।
साधारण सभाको पूर्व सन्ध्यामा संस्थाको दमक ६ स्थित कार्यलयमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाका अध्यक्ष टिकाराज सापकोटा, प्रवन्ध निर्देशक अरुण भण्डारी, सञ्चालक राजकुमार खडका, इश्वर पोखरेल र होम श्रेष्ठले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन । सार्वजनिक गरिएको प्रतिवेदनमा संस्थाले गत आर्थिक बर्ष २०७८र ०७९ को एक अर्ब ९५ करोडको वासलात प्रस्तुत गरेको छ । प्रतिवेदनमा संस्थाको शेयर पुँजी १२ करोड ९० बाट बृद्धि भई १६ करोड ७१ लाख रुपैयाँ पुगेको उल्लेख छ भने खुद नाफा एक करोड ८७ लाख रुपैयाँ रहेको पनि उल्लेख छ ।

मुलुकको बिषम परिस्थितिका बाबजुद गत आर्थिक बर्षमा संस्थाले सन्तोषजनक प्रगति गर्न सफल भएको प्रवन्ध निर्देशक भण्डारीले बताए । उनले संस्थाको मुख्य कार्यालयबाटनै वित्तिय सेवा प्रदान गर्ने जनाउँदै वित्तिय क्षेत्रमा भित्रिएको प्रविधिको प्रयोगमा समेत संस्था अग्रपक्तिंमा रहेको जानकारी दिए । संस्थाले सेवा केन्द्र विस्तारको योजना नबनाएको पनि उनले स्पष्ट पारे ।
झापाको भद्रपुर र मेचीनगर बाहेकका सबै पालिकामा कारोबार गर्न सकिने गरिको कार्यक्षेत्र रहेको भएपनि आर्थिक मितव्ययिता र दमकको संस्थाले दमकका सदस्यलाई नै अभिप्राय राखेर अन्य क्षेत्रमा सेवा केन्द्रहरु सञ्चालनको योजना नबनाइएको निर्देशक भण्डारीले बताए । संस्थाले सदस्यहरुको चल्ती खातामा ५ देखि साढे ८ प्रतिशत सम्म र आवधिक बचतमा १२ प्रतिशत सम्म ब्याजदर कार्यान्वयनमा रहेको पनि जनाएको छ । बैंकहरुले महंगो ब्याजदरको लोभ देखाएर सहकारीहरुमा भएको बचत फिर्ता गराउन सक्ने सम्भावनालाई पनि संस्थाले आंकलन गरेको पनि पत्रकार सम्मेलनमा जनाइयो । संस्थाका अध्यक्ष सापकोटाले दमकबासीहरुको साथ र सहयोगबाटनै यो संस्था अघि बढिरहेको जनाउँदै अन्य ठाउँहरुमा छुटटै कार्यालय स्थापना गरेर खर्चिलो अभ्यासमा संस्था नलाग्ने दोहोरयाए । सोमबारदेखि शुरु हुने संस्थाको साधारण सभा ३१ भाद्रमा समापन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै बेलडाँगी र कमल ६ को वडा कार्यालयमा पनि साधारण सभाको संक्षिप्त रुप सञ्चालन हुने जनाइएको छ ।
