दमक/ उर्लाबारी ५ मा मुख्य कार्यालय रही तीन वटा सेवा केन्द्र मार्फत वित्तिय कारोबार गर्दै आएको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले आज शुक्रबार उर्लाबारी उद्योग वाणिज्य संघको सभाकक्षमा औपचारिक कार्यक्रम गरी संस्थाका उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट शेयर सदस्य समेत एक सय जना बढीलाई पुरस्कार एवं सम्मान गर्दै साधारण सभा समापन गरेको हो । इकागत रुपमा संस्थाको बार्षिक साधारण सभा गरिरहेको सो संस्थाले गत मंगलबार पथरीशनिश्चरेस्थित पथरी बजार सेवा केन्द्र , बुधबार मधुमल्ला सेवा केन्द्र र बिहिबार उर्लाबारीस्थित मुख्य कार्यालयमा इकाइगत साधारण सभा गर्दै शुक्रबार माइन्यूट प्रमाणिकरणसहित सभाको औपचारिक समापन गरेको संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले जानकारी दिए । संस्थाका अध्यक्ष गोपाल भटटराईको सभापतित्व र जिल्ला सहकारी संघ मोरगंका अध्यक्ष डिल्ली पोखरेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहकारीको कार्यक्षेत्र रहेको दमक र मोरगंमा रहेर पत्रकारितामा क्रियाशील तीन जना पत्रकारलाई समेत पुरस्कृत गरिएको थियो ।


संस्थाले सहकारी क्षेत्रका बिषयमा सञ्चारका माध्यमबाट नागरिकहरुलाई सुसुचित गराउन योगदान दिएको ठहर गर्दै निष्कर्ष मिडिया प्रालिका सञ्चालक बिष्णु पौडेलसहित उर्लाबारीलाई कार्यथलो बनाएर २ दशक अघिदेखि पत्रकारितामा क्रियाशील पत्रकारद्धय मिलन के राउत र मदनबाबु प्रसाईलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी पोखरेलले सहकारी अभियान नेपालमा मात्रै नभई विश्वका बिकसित मुलुकहरुमा समेत सफल अभियान भएको र वित्तिय क्षेत्रमा सहकारीको मोडल विश्वमै उदाहरणीय रहेको चर्चा गरे । उनले भने सहकारी विश्वका चाहे बिकसित मुलुकहरुमा समेत सञ्चालनमा छन । अमेरिका, फ्रान्स, जापान , छिमेकी मुलुक भारतमा समेत सहकारीले ठुलो आर्थिक योगदान दिएको फेहरिस्त प्रस्तुत गर्दै नेपालमा करिब ३० हजार सहकारी संस्थाहरु मार्फत ७६ लाख नागरिकहरु सहकारी अभियानमा जोडिएका कारण यसलाई कम्जोर आंकल्न नमिल्ने पोखरेलको कथन थियो ।


उर्लाबारीमा मोरगं बाहिरबाट आएर वित्तिय कारोबार गर्ने उद्धेश्यले सञ्चालित केही नामुद संस्थाहरुको गतिबिधिमाथि निगरानी गर्नुपर्ने अवस्था आएको बताउँदै सहकारीका नाममा बदमासी गर्ने छुट नरहेको बिषयमा स्पष्ट हुन आग्रह गरे । कार्यक्रममा उर्लाबारी ५ का वडाध्यक्ष रविन तामागं, ६ का वडाध्यक्ष चिन्तामणि पौड्याल लगायतको विशेष आतिथ्य रहेको थियो भने कार्यक्रममा संस्थाका सञ्चालक नरेन्द्र शेर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन घनश्याम भण्डारीले गरेका थिए ।
सो संस्थामा गत आर्थिक बर्ष सम्ममा कूल ९ हजार ५ सय ८८ जना शेयर सदस्य पुगेका र कूल ५ करोड ७७ लाख रुपैयाँ शेयर पुँजी कायम भएको कार्यकारी प्रमुख पौडेलले जानकारी दिए ।

संस्थाले शेयर सदस्यहरुलाई लक्षित गर्दै ल्याएका शेयर सदस्य कल्याणकारी योजना अन्तर्गत सन्तान प्राप्ती खुशीयालीमा एक हजार, प्राकृतिक प्रकोप राहत योजनामा प्रकोपमा परि घरबारबिहिन भएका सदस्यलाई २० हजार, बिरामी भई शल्यक्रिया गर्नुपर्ने सदस्यलाई शल्यक्रिया राहत योजनामा ७ हजार, अंगभंग राहत योजनामा सदस्यलाई २ लाख सम्म, स्वास्थ्य सुधार राहत योजना एक लाख, छात्रवृत्ती योजनामा १० हजार, मृतक राहत कोषमा ४५ हजार रुपैयाँ प्रदान गरिने कार्यक्रमहरु ल्याएको संस्थाका अध्यक्ष भटटराईले जानकारी दिए ।

Facebook Comments Box