दमक/ तराईमा बसोबास गर्ने थारु र मैथिली समुदायका महिलाहरूले मनाउने महान चाड जितिया पर्वको अवसरमा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शुभकामना व्यक्त गरेका छन । मुख्यमन्त्री राईले आज जितियाको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको र नेपालको संविधानले स्वीकारसमेत गरेको उल्लेख गरेका छन । सन्देशमा भनिएको छ – यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो । मुख्यमन्त्रीले दिएको शुभकामनामा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भनि उल्लेख गरिएको छ ।

प्रदेश नं. १ सहित तराई–मधेसका जिल्लामा यो पर्व धुमधामका साथ मनाइन्छ । सन्तानको दीर्घायुका लागि बस्ने भनिएको यो व्रत आश्विन कृष्णपक्षकोे अष्टमी तिथिका दिन मुख्यगरी मनाइन्छ । आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालुहरू स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु गरी नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ ।

यस व्रतका क्रममा राती जितवाहन भगवानको कथा र महिमा सुन्ने प्रचलन छ । खासगरी थारु र मैथिली समुदायको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुका लागि प्रसिद्ध छ । सत्ययुगमा भगवान् विष्णुको तपस्या गरी वरदान पाएका सत्यवादी पुरुष जितवाहनको पूजा आराधना गर्नाले सन्तानको अकाल मृत्यु नहुने मान्यताबमोजिम जितवाहनको पूजा र व्रत गर्ने परम्पराको थालनी भएको भन्ने भनाइ छ । जितिया पर्व जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ । यो तराई–मधेसको महत्वपूर्ण लोक पर्व हो ।

 

Facebook Comments Box