दमक/कमल ५ पाडाजुँगीस्थित लगनशील कृषि सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम प्रसाद कोइरालाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष लालबहादुर विष्टको अध्यक्षतामा भएको साधारण सभाको उदघाटन कार्यक्रममा सहकारी सदस्यहरुलाई कृषि तथा व्यापार तर्फ गरी कूल १०० जनालाई विभिन्न विधामा पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक तिलक कार्कीले जानकारी दिए ।
उदघाटन कार्यक्रमका वक्ताहरुले सहकारीका माध्यमबाट स्थानीयस्तरमा कृषकहरुले अधिकतम फाइदा लिन सकेको जनाउँदै निरन्तरताका लागि शुभकामना व्यक्त गरे । उदघाटन कार्यक्रमका वक्ताहरुले सहकारी अभियानलाई सार्थक बनाउन सहकारीकर्मीहरुको भुमिका महत्वपूर्ण हुने चर्चा पनि गरे ।
साधारण सभामा पेश गरिएको बार्षिक प्रतिवेदनमा गत आर्थिक बर्ष सम्ममा ५११ महिला, ४ संस्थागतसहित कूल ९६८ शेयर सदस्य कायम भएका उल्लेख छ । संस्थामा २ करोड ५७ लाख ५२ हजार रुपैयाँ शेयर पुँजी पुगेको र जगेडा कोषमा १ करोड ३१ लाख २४ हजार रुपैयाँ रहेको जनाइएको छ । संस्थाले गत आर्थिक बर्षमा ३५ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गर्नुका साथै १४ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरी ११ करोड ५६ लाख ८४ हजार रुपैयाँ कर्जा असुली गर्न सफल भएको पनि लेखा तथा सुपरिवेक्षण समितिद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले चालू बर्षमा थप ३०० जना शेयर सदस्य थप गर्ने, १० बर्षे अनिवार्य मासिक बचतमा रहेको १०० रुपैयाँलाई बढाएर ३०० रुपैयाँ कायम गर्ने, प्रत्येक सदस्यबाट पारिवारिक राहत कोषमा ५०० रुपैयाँ संकलन गरिने, शेयर सदस्यको मृत्यु भएमा मृत्यु राहत स्वरुप २५ हजार रुपैयाँ प्रदान गर्ने लगायतका लोककल्याणकारी कार्यक्रमलाई अघि बढाउने नीति लिएको छ । संस्थाको चिस्यान केन्द्रमा दुध उपलब्ध गराउने कृषक सदस्यहरुले व्यवसायिक रुपमा गाई, भैंसी पालन गर्ने माग गरेमा परियोजना हेरी १० लाख रुपैयाँ सम्म प्रदान गर्ने चिस्यान केन्द्रमा बार्षिक २ हजार लिटर सम्म दुध ल्याउने किसानको पशुधन सुरक्षाका लागि निशुल्क पशु बीमाको कार्यक्रमलाई निरन्तरता दिने पनि नीति लिएको छ ।
साधारण सभाको बन्द सत्रले संस्थाका अध्यक्ष लाल बहादुर विष्टले वडाध्यक्षमा निर्वाचित भएपश्चात दिएको राजीनामालाई स्विकृत गरेको छ । उदघाटन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं कमल ५ का वडाध्यक्ष डम्बर निरौला, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी अध्यक्ष उषा भण्डारी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । सभाको सञ्चालन संस्थाका सचिव भिष्म प्रसाद सिटौलाले गरेका थिए ।
