आज घटस्थापना ( जमरा छर्ने दिन) अर्थात नवरात्रको पहिलो दिन । आज घटस्थापनाका लागि बिहान १०.२३ बजेको समयलाई घटस्थापनाका लागि उत्तम साइत मानिएको छ ।
घटस्थापनासंगै आजबाट दशैं हिन्दु धर्मावलम्बीको घर घरमा प्रवेश गर्दैछ । अघिल्ला बर्षहरु भन्दा यसपटकको दसैँ अलिक फरक हुँदैछ । कोभिडको त्रासले गर्दा पछिल्ला वर्षका दसैँहरू न्यूनतम मानवीय चहलपहलमा गुजारिए भने यो दसैँ तुलनात्मक रुपमा अलि खुलेर मनाउने तयारीमा छन नेपालीहरु ।

घटस्थापना कसरी गरिन्छ ?
जमरा अर्थात जौ को जीवन । जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । अनि नवरात्रिभरि नै हरेक दिन पूजा–अर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भए तापनि दसैँको जमरामा जौ लगायत धान, मकै र गहुँका पहेँला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ ।

माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौँ भन्ने स्पष्ट पार्छ । हिन्दुहरूको महान् पर्व दसैँमा जमरा संस्कृति एउटा मौलिक धरोहरको रूपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्न आजको दिन अर्थात घटस्थापना महत्त्वपूर्ण दिन हो ।

नवरात्रिको सुरुवात आजबाट भयो । अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । बिहान बिहान जमराको पूजा–पाठ गर्ने गर्नुपर्छ । अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिष सँगै जीवनमा खुसीयाली प्राप्त गरिन्छ ।

आज छरिने जमरालाई माटोको चतुर्भुज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीका दिन भने आवश्यकता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यही जमरा, टिका अनि सद्भावले दसैँको रौनकता बढाउँछ । प्रत्येक मुहारमा दसैँको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।

दसैँको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक–फरक हुन्छ । कतै सामूहिक रूपमा दसैँ–घर स्थापना गरेर, गुठीमा या शक्ति पीठ अनि मठ–मन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजा कक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस् । यसरी प्रकाश नपरेका जमराका बालाहरू पहेँला हुन्छन् । घटस्थापनाबाट प्रारम्भ हुने दसैँको नवरात्रि भनेको जमराको नौ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दानाभित्र रहेको जीवन शक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।
१६ औँ शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्राइन्छ ।
सभ्यताका प्रक्रिया अनि इतिहास हेर्दा मानवले जङ्गली युगको समाप्तिसँगै व्यवस्थित रूपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदीको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्र देशहरू अनि चीनमा पनि हजारौँ वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरि नै जौलाई धेरै पुरानो अन्नका रूपमा विशेष महत्वका रूपमा हेरिन्छ ।

हाम्रा सनातन संस्कारहरू जौ, तुलसी, कुश र तिलविना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौलाई तः छो भनिन्छ भने अङ्ग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिकता निर्विकल्प छ । विज्ञापनहरूमा धेरै पौष्टिक भनिएका आयातित महँगा खाने कुराहरूमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्छ । यसमा ‘ऐण्टिअक्सिडेन्ट’ र ‘विटाक्यारोटिन’ लगायतका तत्त्वहरू पाइन्छ ।

यही जौको अङ्कुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरूलाई सद्भाव, सदाचार, समृद्धिसहितको दुर्गा भवानीको शक्ति प्राप्त हुने विश्वास छ । जसरी छरिएको जमरा बिस्तारै अङ्कुरण हुँदै जान्छ, त्यो प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्छ अनि जरा पलाएपछि बिस्तारै जमराका पातहरू माथि–माथि बढ्न थाल्छ ।

त्यसै गरी सायद प्रकृतिले पनि हामीले हाम्रो जरा अर्थात संस्कार, परम्परा र मानवीय आधारहरूका बारेमा जानकारी दिएको पनि हुन सक्छ । बिरुवाहरू जतिसुकै ठुला, अग्ला र मोटा भए पनि, उनीहरूको हाँगाले आकाशै छुन खोजे तापनि जरा भने माटोमै हुन्छ । अर्थात हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर आकाशै छोए पनि हाम्रो बहुमूल्य मौलिक संस्कार र परम्पराको जग भने बिर्सन हुँदैन भन्ने महत्व दर्साउँछ ।

Facebook Comments Box