दमक/ आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ । दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ ।
यसैबीच प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बडादशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन । दशैंलाई नेपालीहरूले खुशी र उमङ्गसा मनाउने ठूलो पर्वका रुपमा लिइएको भन्दै मुख्यमन्त्री राईले जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानका साथ अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन ।
आज बडादशैंको विशेष दिन फुलापतीको अवसरमा मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ – नेपाल विविध भाषा धर्म संस्कृतिले धनी देश हो । सबै जातजाति, समुदायको आ–आफ्ना चाडपर्व छन् । नेपालीहरूले खुशी र उमङ्गले मनाउने दशैं एउटा ठूलो पर्व हो ।
हाम्रा जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानका साथ अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।
उनले सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक भएको पनि जनाएका छन । सन्देशमा भनिएको छ– पर्वहरूको मौलिकतालाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो ।
पर्वहरू मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै पर्वहरू मनाउनु वाञ्छनीय हुने ठान्दछु ।
दशैंको शुभकामनासंगै मुख्यमन्त्री राईले हाम्रा महत्वपूर्ण पर्वहरूका बीचमै आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेसभाको निर्वाचनमा उल्लासपूर्ण रुपमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न, र संविधान, गणतन्त्र, संघीयताको रक्षा, सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन अपेक्षा र अनुरोध समेत गरेका छन ।
हेर्नुहोस शुभकामना सन्देश जस्ताको तस्तै
नेपालीहरूको महान चाड बडादशैं–२०७९ को सुखद् अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नेपाल विविध भाषा धर्म संस्कृतिले धनी देश हो । सबै जातजाति, समुदायको आ–आफ्ना चाडपर्व छन् । नेपालीहरूले खुशी र उमङ्गले मनाउने दशैं एउटा ठूलो पर्व हो । हाम्रा जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानका साथ अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । हाम्रा सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक हुन् । पर्वहरूको मौलिकतालाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो । पर्वहरू मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै पर्वहरू मनाउनु वाञ्छनीय हुने ठान्दछु ।
नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।
अन्त्यमा, हाम्रा महत्वपूर्ण पर्वहरूका बीचमै आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेसभाको निर्वाचनमा उल्लासपूर्ण रुपमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न, र संविधान, गणतन्त्र, संघीयताको रक्षा, सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन अपेक्षा र अनुरोधका साथ बडादशैं–२०७९ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।