दमक/ दमक ९ स्थित शुभमंगल बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
कन्काई पाटी प्यालेसमा आयोजित साधारण सभाका वक्ताहरुले सहकारी अभियानलाई अघि बढाउन आम सहकारीकर्मी नागरिकहरुको भुमिका महत्वपूर्ण हुने बताए । उनीहरुले सहकारी सदस्यहरुलाई सहकारीमै कारोबार गर्न आव्हान गर्दै सहकारीहरु सेवामुखी हुनुपर्नेमा पनि जोड दिए । आर्थिक पारदर्शीता हरेक नागरिकको सफलताको अनिवार्य शर्त भएकाले सबैले जिम्मेवारपूर्ण व्यवहार गर्नुपर्ने औंल्याए ।


दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाइँले दमकमै कतिपय सहकारीका सञ्चालकहरुको नियत राम्रो नरहँदा सहकारी क्षेत्रप्रति नागरिकहरुको विश्वास घटन सक्ने तर्फ सचेत हुन नगरका सहकारी अभियान्ताहरुलाई आग्रह गरे । उनले सबै सहकारीका सञ्चालकहरुमाथि सदस्यहरुले निगरानी जारी राख्नुपर्ने पनि औंल्याए ।
संस्थाका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा भएको सो साधारण सभामा संस्थाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा सहयोग पुरयाए वापत निम्स नेशनल हस्पिटललाई सम्मान समेत गरिएको छ । हस्पिटलकी उपाध्यक्ष मन्धरा चिमरिया पौडेलले सो सम्मान पत्र ग्रहण गरिन ।
त्यसैगरी संस्थाले विभिन्न विधामा सहकारीका ५० जना भन्दा बढी उत्कृष्ट सदस्यहरुलाई पुरस्कृत समेत गरेको थियो । सो अवसरमा दमक क्याम्पसमा सञ्चालक समिति अध्यक्ष देवीप्रसाद दाहाल, सेतुमारी कृषि सहकारी संस्थाका अध्यक्ष सोम तामाङ, निम्स हस्पिटलकी उपाध्यक्ष चिमरिया, समता कृषि सहकारीका अध्यक्ष शान्तिराम भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । सभामा अध्यक्ष आचार्यले सञ्चालक समितिको तर्फबाट र लेखा समिति संयोजक रमेश धिमालले लेखा समितिको तर्फबाट पेश गरेको प्रतिवेदन सर्वसम्मत रुपले पारित भएको छ ।
