दमक/ साँस्कृतिक पर्व तिहारको चौतर्फी उल्लास छाएको छ । चेली माइतीहरुबीचको सम्बन्धलाई प्रगाढ बनाउनेदेखि पशुपंक्षीहरुको समेत पूजा गरेर प्राणी जगतको रक्षा र एकताको प्रतिकका रुपमा तिहार पर्वलाई लिने गरिन्छ । यमपञ्चक समेत भनिने गरिएको तिहारलाई विशेष गरी बोलीचालीको भाषामा मधेसमा दिवाली पनि भन्ने गरिन्छ ।

कमल ५ लखनपुरमा किराँत याक्थुम चुम्लुङको देउसी भैलो

यसबर्षको तिहारको अवसरमा मौलिक परम्पराहरुको निरन्तरता र संरक्षणका लागि भन्दै देउसी भैलीलाई सर्वसाधारणले उल्लासपूर्वक निरन्तरता दिएका छन । घर आँगनमा देउसी भैली गाउने र मनोरञ्जनात्मक शैलीमा नाचगान गर्दै यसबर्षको तिहारलाई बालबालिका र महिलाहरुले विशेष महत्वको चाडका रुपमा मनाएका छन ।

अपवाद बाहेक युवा पुस्ताहरु भने तिहारको रमाईलोको बहानामा जुवातास जस्ता विकृतपूर्ण खेल तमासाहरुमा रमाएका देखिन्छ । किराँत याक्थुम चुम्लुङले कमल ५ साविक लखनपुरमा लिम्बु समुदायको परम्परागत बाजागाजा च्याब्रुङसहित देउसी भैलो सञ्चालन गरेको छ भने दमकमा होटल व्यवसायी संघले संस्थागत रुपमै देउसी भैलो कार्यक्रम सञ्चालन गरेको छ । त्यसैगरी राजवंशी तथा कोच समुदायका सर्वसाधारणले तिहारमा खेलिने परम्परागत हुक्काहुक्की खेललाई निरन्तरता दिएका छन । सो समुदायको सघन बसोबास रहेको झापाको गौरीगञ्जमा राजवंशी बिकास समितिको आयोजनामा सामुहिक हुक्काहुक्की मनाइएको छ ।

पञ्चाङग निर्णायक समितिका अनुसार यो बर्षको तिहारको भाइटिकाका लागि १० कार्तिक अर्थात बिहिबार दिउँसो ११.३७ बजे उत्तम साइत रहेको छ । भाइटिकाको दिन सप्तरङ्गी टीकाहरू, कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सेल रोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरिवल, छोकडा, मिठाई , मरमसला लगायतका खानेकुराहरूसहित दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ ।

 

Facebook Comments Box