बागलुङ/ समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे । रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुसी भए । जब धान पाक्यो र भित्र्याउने बेला भयो तब बेमौसमी वर्षा भयो ।

लगातारको वर्षाले भित्र्याउ नै आँटेको धानमा क्षति पुगेका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको हो । मध्यपहाडी जिल्ला भए पनि यहाँ विगतमा राम्रो धान उत्पादन हुन्थ्यो । तर यस वर्ष उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन् ।

जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षमा १२ मुरी धान उत्पादन भएकामा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पुर्याउदा सात मुरी मात्रै स्याहारेको बताउनुहुन्छ । केसी भन्नुहुन्छ, “यसपाली धान निकै राम्रो भएको थियो, पोहोर परार सालकोभन्दा धेरै नै उत्पादन हुने आश थियो तर पाकेको धान स्याहार्ने बेला एक्कासी एक साता पानी पर्दा धेरै नोक्सान भयो, धान सबै खेतभरि भएको थियो, न उठाउन मिल्ने न टिप्न, हामी किसानलाई वर्षाले रुवाउनु रुवायो ।”

अहिलेकोभन्दा अघिल्ला सालमा झण्डै दोब्बरले धान उत्पादन हुँदासमेत आयातित खाद्यान्न किनेर उपभोग गरेको सुनाउनुभयो । “पहिलापहिला अहिलेकोभन्दा धेरै धान फल्थ्यो र त दोकाने चामल किनेर खानुपथ्र्यो, अहिले त झन्, निकै कम उत्पादन भएको छ, बाहिरबाट आएकै चामलले वर्ष गुजार्नुपर्ने भयो”, केसीले भन्नुभयो । स्थानीय हरिप्रसाद सापकोटाले धानबालीमा ठूलो क्षति पुगेको भन्दै अहिलेसम्म राहत पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले बेमौसमी वर्षाका कारण यस वर्ष दोब्बरले धान उत्पादनमा कमी आएको बताउनुभयो ।

Facebook Comments Box