गौरीगञ्ज/ नेपाल आदिवासी सन्थाल उत्थान संघ गौरीगञ्जले सन्थाल समुदायकाे सबै भन्दा ठुलाे पर्व साेहराय पर्वकाे अवसरमा विविन्न सांस्कृति नृत्यसहित सम्मान कार्यक्रमकाे आयाेजना गरि भव्यरूपमा मनाएकाे छ ।

गाैरीगंज माविकाे प्राङ्गनमा शनिवार आयाेजना गरिएकाे उत्साहजनक कार्यक्रममा माेरङ्ग क्षेत्र नं.५ बाट निर्वाचित समानुपातिक सांसद साेनु मुर्मुकाे प्रमुख अतिथि थिए । सांसद मुर्मुले संथाल समुदायकाे जातिय पहिचान, अधिकार र आर्थिक उन्नतिका लागि आफु सदैव तत्पर रहने बताईन् ।
नेपालमा आदिवासी जनजाति समुदाय भित्र पनि संथाल समुदाय पिछडिएको जाति भएकाेले राज्यले संथाल समुदायलाई राज्यकाे मुलधारमा ल्याउन सरकारले आवश्यक पहल कदमी लिनु पर्ने आफ्नाे धारणा राखिन् । संथाल समुदायकाे भाषा, धर्म, संस्कृति, पहिरन, खानपान, रितीरिवाज याे देशकाे सम्पति र गहना भएकाेले त्यसकाे जगेर्ना गर्नु आवश्यक रहेकाे भन्दै सांसद मुर्मुले त्यस तर्फ आआफ्नाे स्थानबाट सबैले याेगदान गर्नु पर्ने बताईन् ।
नेपाल आदिवासी संथाल उत्थान संघ गाैरीगंजका अध्यक्ष राईसिंह हेमरमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सांसद मुर्मुले गाैरीगंज गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विभिन्न कक्षामा पहिलाे र दाेस्राे स्थान हासिल गरेका विद्यार्थीलाई कलम र कापी वितरण गरेकी थिईन् ।
उनले आफ्नै संथाली भाषामा माेजते पाउहाउ पे, लाटु हाेड बिनाउपे अर्थात राम्राे संग पढ्नु, ठुलाे मान्छे बन्नु भन्दै हाैसला दिदै गर्दा पुरस्कृत विद्यार्थी खुशीले रमाएका थिए ।
विशिष्ट अतिथि गाैरिगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँरले संथाल समुदायकाे उत्थानका लागि आफ्नाे सदैव साथ सहयाेग रहने बताईन् । उपाध्यक्ष कुवँरले चुनावका बेला कसैकाे भ्रम र प्रलाेभनमा नपरि राम्राे मान्छेलाई चयन गर्ने र आफ्नाे हक अधिकारका लागि एक जुट बन्नु पर्ने धारणा राखिन् ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ गाैरीगंजका अध्यक्ष गंगा प्रसाद राजवंशीले गाैरीगंज गाउँपालिका भित्रका आदिवासी जनजातिका लागि आवश्यक वजेट माग गर्दा कार्यपालिका सदस्यहरू सकारात्मक नरहेकाेमा दुःख व्यक्त गरे । गाैरीगंज गाउँपालिकाका पुर्व कार्यपालिका सदस्य जेठा मुर्मुले संथाल समुदायकाे भाषा, धर्म , संस्कृति र आर्थिक उन्नतिका लागि गाउँपालिकाले आवश्यक वजेट विनियाेजन गर्नु पर्ने धारणा राखे ।

पुर्व कार्यपालिका सदस्य मुर्मुले साेराई पर्वकाे अवसरमा शुभकामना दिदै आफ्नाे समुदायकाे उन्नति र प्रगतिका लागि पहिला आफैबाट शुरू गर्नु पर्ने बताए । नेपाल आदिवासी संथाल उत्थान संघका जिल्ला सचिव परमेश्वर मुर्मुले आफ्नाे जातिय पहिचानकाे संरक्षण, हक अधिकार र भाषा संस्कृतिकाे उत्थानका लागि सबैले आआफ्नाे ठाउँबाट साथ र सहयाेग गर्नु पर्ने बताए ।
कार्यक्रममा राजवंशी समाज विकास समिति गाैरीगंज अध्यक्ष गाेपाल प्रसाद राजवंशी, नेवा दय देबु गाैरीगंजका अध्यक्ष दुर्लभमान श्रेष्ठलगायतकाे उपस्थिति थियाे ।
महिला अगुवा तिला मुर्मुले स्वागत गरेकाे कार्यक्रममा संघका सचिव जगन मुर्मुले कार्यक्रम सञ्चालन गरेका थिए ।
सोहराय पर्वमा सोमबार स्थानीय विदा
झापाको गौरीगञ्ज गाउँपालिकाले सन्थाल समुदायको मुख्य पर्व सोहराय मनाउन स्थानीय विदा दिएको छ । गाउँपालिकाले यही पुष २५ गते सोमबार एकदिन पालिकाभर स्थानीय विदा दिएको हो ।
गाउँ कार्यपालिकाको २१ पुषमा बसेको बैठकले सो दिन सन्थाल समुदायको सोहराय पर्व परेका कारण गाउँपालिका कार्यालय अन्तर्गतका सबै कार्यालय, शैक्षिक संस्था र अन्य संघ संस्थाहरुमा स्थानीय विदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गौरीगञ्ज गाउँपालिका लोपोन्मुख सन्थाल समुदायको सघन बसोबास रहेको पालिका हो । पूर्वी तराईका झापा, मोरङ र केही सुनसरीमा समेत सन्थालहरुको बसोबास रहेको छ ।