दमक/ दमकका उद्योगी व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघको आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनको समन नजिकिएको छ । ६ माघमा निर्वाचन गर्ने निधो गरेको संघले यसका लागि गठन गरेको निर्वाचन समितिले नेतृत्व चयन सके सम्म सर्वसम्मत रुपमा चयन गर्ने प्रयत्न गरिरहेको छ ।
अघिल्ला पटकका निर्वाचनहरुमा जस्तो यसपटकको दमक उद्योग बाणिज्य संघको निर्वाचनका मतदाता व्यवसायीहरुमा भने चुनावी रौनकले छुन सकेको छैन । कोभिड १९ को संक्रमणपछि विस्तारै उठदै गरेको निजी क्षेत्र बैंकहरुको मनलाग्दो ब्याजदर बृद्धि, बिकास खर्चमा आएको न्यूनिकरणले निम्त्याएको आर्थिक मन्दिको मारमा छन । बैंक तथा वित्तिय संस्थाहरुले व्यवसायीहरुसंग कर्जा असुलीलाई जोड दिएको र नयाँ लगानी नगरेका कारण व्यवसायीहरु भने चर्को मारमा छन ।
कतिपय व्यवसायीहरु दिनदिनै पेशा छोडेर पलायन हुने क्रम समेत उस्तै छ । सरकारी तथ्याङकमा उद्योगी व्यवसायीहरुको संख्या बढेपनि यथार्थमा पुराना व्यवसायी आर्थिक मन्दी, लगानीमा बैंकहरुको सुस्तता र असुलीमा कडाइँको कारण दमक क्षेत्रबाट पछिल्ला केही बर्ष यता स्थापित व्यवसायीहरु वेपत्ता हुने समेत क्रम छ ।
व्यवसायीहरुका लागि यो निर्वाचन प्रतिकूल अवस्थाको निर्वाचन हो– दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठले भन्नु भयो । अध्यक्ष श्रेष्ठले भन्नु भयो– व्यवसायीहरुमा चुनावी उत्साह खासै देखिँदैन । हामी नेतृत्वले पनि यो अवस्थालाई मनन गरेर सके सम्म सर्वसम्मत रुपमै नेतृत्व चयन होस भन्ने चाहेका छौं ।
देशमा भर्खरै स्थानीय तहदेखि प्रदेश र संघ अर्थात केन्द्रका (राष्ट्रिय ) निर्वाचन सम्पन्न भई दलहरुको हैसियत निर्धारण भइसकेकोले त्यसलाई आत्मसाथ गरेर व्यवसायी नेताहरु भडकिलो चुनावी प्रतिस्पर्धामा नजानु उपयुक्त हुने आम व्यवसायीहरुको सुझाव रहेको पाइन्छ ।
अन्तत प्रतिस्पर्धाको सम्भावना
यहाँ मुख्यतया नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा, नेकपा माओवादी केन्द्र समर्थित व्यवसायीहरुनै संघको नेतृत्व पक्तिंका लागि दाबेदारका रुपमा रहने अनुमान छ ।
यद्यपी संघको अध्यक्षमा भने नेकपा एमाले निकटका व्यवसायीवीच नै प्रतिष्पर्धाको पूर्वानुमान हुन थालेको छ । बजारमा व्यवसायीहरुका बीचमा समेत एमाले निकट व्यवसायीका तर्फबाट दुई जना उम्मेदवार हुने चर्चा भइरहेको छ ।
दमक उद्योग वाणिज्य संघको निर्वाचनमा दलगत प्यानल बाहेक स्वतन्त्र व्यवसायीहरुको प्यानल समेत बनेको इतिहास छ । नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलहरुको छुट्टाछुट्टै र अलग अलग समेत मोर्चाबन्दी हुँदा पनि विशुद्ध व्यवसायीहरुको हितमा काम गर्ने भन्दै व्यवसायिक क्षेत्रलाई स्वतन्त्र राख्नुपर्छ भन्ने दबाबसहित अलग प्यानलहरु चुनाव प्रतिस्पर्धामा गएको धेरै पुरानो इतिहास होइन । त्यस्तो समुहले आंशिक रुपमा चुनाव जितेको पनि पाइन्छ ।
त्यस्तो स्वतन्त्र व्यवसायीहरुको समृहको नेतृत्व अलग अलग निर्वाचनमा अहिलेका कांग्रेस दमक नगर सभापति समेत रहेका संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइँ र नेकपा एमाले दमक ५ का वडा कमिटी अध्यक्ष राजेन्द्र ढकालले गरेका थिए । पार्टी भित्र विद्रोह गरेर पनि स्वतन्त्र व्यवसायी नामको समुहले आंशिक निर्वाचन जितेपछि विद्रोहलाई संस्थागत गर्न सफल मानिएका प्रसाइँ र ढकालको भुमिकालाई दमक उद्योग वाणिज्य संघको चुनावमा सधैं निक्कै अर्थपूर्ण रुपमा हेर्ने गरिन्छ । यसपटकको निर्वाचनमा उहाँहरुको भुमिका पनि प्रमुख हुने देखिन्छ ।
यसपटक संघको अध्यक्षका लागि हालका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद गुरागाइँ र अघिल्लो निर्वाचनका अध्यक्षमा प्रतिस्पर्धा गरेका बिमल खतिवडाको नाम बाहिर आएको छ । दुवै जना एमाले निकट राष्ट्रिय वाणिज्य संघका तर्फबाट दाबेदार हुन । उनीहरु मध्ये कसलाई संगठनले उम्मेदवार बनाउने हो त्यो भने निक्र्यौल भइसकेको छैन ।
उम्मेदवार मनोनयन अघिनै नेतृत्वमा दुई जना वीच सहमति हुन नसके एक जनाले पाउने एमाले निकट व्यवसायी संगठनका एक नेताले बताएका छन् । संघमा नेतृत्व गरिआएको कांग्रेस निकटका व्यवसायीहरुको संस्था लोकतान्त्रिक व्यवसायी संघले नेतृत्वमा अहिलेसम्म कसैको पनि नाम बाहिर ल्याएको छैन । उसले संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेको दाबी गरेको छ ।
त्यस्तो प्रयास सफल हुनेमा कमै संभावना भएको बुझिएको छ ।
यस्तो छ निर्वाचन तालिका
संघको गत पुस २२ गते ३१ औ बार्षिक साधारणसभाले निर्वाचनको मितिसहित निर्वाचन सम्पन्न गर्न पाँच सदस्यीय एक निर्वाचन समिति गठन गरिएको थियो ।
निर्वाचन सम्पन्न गर्न लीला गुरागाईको संयोजक पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले सोमबारदेखि नै निर्वाचन कार्य तालिका सार्वजनिक गरेको र मंगलवारदेखि भने निर्वाचन सम्बन्धी थप काम शुरु गरिएको संयोजक गुरागाईले बताएका छन् । गठित निर्वाचन समितिमा प्रदिप कोइराला, घनश्याम न्यौपाने, सुशिल निरौला र शेषकुमार निरौला सदस्य छन् ।
निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार पुष २६ मा मतदाता नामावली र आज पुष २७ गते बिहान १०ः३० देखि दिउँसो २ बजेसम्मलाई मतदाता उपर दावी विरोध तोकिएको छ ।
त्यस्तै अन्तिम मतदाता नामावली प्रकाशन दिउँसो ३ः३० बजे हुने सूचनामा उल्लेख छ । त्यस्तै,पुष २९ गते बिहान १०ः३० देखि दिउँसो २ः३० बजेसम्म उम्मेद्वरको मनोनयन दर्तासमय तोकिएको छ भने अपरान्ह ४ बजे उम्मेद्वारको दर्ता नामावली प्रकाशन हुनेछ ।
उम्मेद्वारको नामावली माथि दावी विरोधको समय पुष ३० गते बिहान १०ः३० देखिमध्यान्ह १२ः३० सम्मलाई तोकिएको छ भने त्यस्ता दावीविरोध पश्चात उम्मेद्वारको नामावली दिउँसो २ बजे प्रकाशित हुनेछ ।
निर्वाचन समितिले माघ १ गते बिहान ११ बजेदेखि माघ २ गते दिउँसो २ः३०बजेसम्म उम्मेद्वरको मनोनयन फिर्ता,दिउँसो ३ः३० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ ।
यसैगरि, सहमति नभए माघ ६ गते बिहान ८ः३० देखि दिउँसो ३ बजेसम्म मतदान कार्य हुने र मतदानपश्चात मत गणना कार्य गरिने जारी सूचनामा उल्लेख छ ।
मतदान कार्यक्रम दमक ७ पशुहाटस्थित ७ नम्बर वडा कार्यालयमा सम्पन्न हुनेछ भने निर्वाचनका बाँकी सबै कार्यक्रम संघको कार्यालयबाटै सम्पादन हुने संयोजक गुरागाईले जानकारी दिए ।
निर्वाचनबाट संघको २५ सदस्यीय संघको कार्य समिति र ३ सदस्यीय लेखा समिति निर्वाचित हुने छन् । जसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष र महिला उपाध्यक्ष १–१ पदका लागि निर्वाचन हुनेछ भने संघका निवर्तमान अध्यक्ष पदेन पदाधिकारी हुने वैधानिक व्यवस्था छ ।
त्यसैगरी महिला सदस्य २, वस्तुगत सदस्य ७, खुल्ला सदस्य ६, जना सदस्यपदका लागि निर्वाचित हुनेछन् । त्यसैगरी लेखा समिति संयोजक १ र सदस्य २ का लागि पनि निर्वाचन हुनेछ । निर्वाचित समितिको बैठकले थप १ महिलासहित ३ सदस्य मनोनित गर्ने प्रावधान रहेको जनाईएको छ ।यसपटकको निर्वाचनमा २०१६ जना मतदाता छन् ।