उर्लाबारी नगरपालिका लेखेर गुगलमा सर्च गर्नु भयो भने त्यहाँ उर्लाबारी नगरपालिकाको परिचयमा सन्थाल जातिहरुको सन्थाली भाषाबाट उर्लाबारी रहन गएको भनि उल्लेख गरिएको छ ।
गौरवको साथ सन्थाली भाषामा परिभाषित गरिएको उर्लाबारी नगरपालिकामा रहेका त्यही सन्थाल जातिहरुको अवस्था कस्तो छ त चर्चा हुन जरुरी छ ।
उर्लाबारी नगरपालिकाको वडा ८ र ९ (साविकको राजघाट गाविस) लाई जङ्गलबाट बसोबास र खेतीपाती योग्य बनाउने प्रमुख योगदान सन्थाल जातिहरुको रहेको छ भन्ने बारेमा दुइमत छैन। तर त्यही जातिहरु आज उर्लाबारी नगरपालिकामा सबै भन्दा पछाडी परेका छन्। ।
सामाजिक आर्थिक राजनीतिक शैक्षिक हरेक क्षेत्रमा । खास गरी पहाडबाट मानिसहरु बसाइँसरी मधेस झर्न थालेपछि यहाँका सन्थालहरुले ओगटेको जग्गा जमिनको मात्रा घटदै गयो । त्यसको परिणाम आजसम्म उर्लाबारी नगरपालिकामा बसोबास गर्ने सन्थालहरु सयौ परिवार घरबारविहीन भइ अरुकोमा अस्थायी बसोबास गरि जिबिकोपार्जन गर्नुपर्ने अवस्थामा पुगे ।
कुनै समय सयांै घरको एक सन्थाली टोल रहेकोमा हाल पुरै नगरपालिकामा केवल २ सय को हाराहारीमा समेटिएको छ ।
गणतन्त्र आएपछि धेरै पटक सुकुम्बासी समस्या समाधानका लागि आयोग गठन भए अनि हामी जस्ता लाचार भुमिहिन सुकुम्बासीहरुको तथ्याङ्क संकलन गरी आजको भोलि समस्या समाधान गर्ने आश्वासन दिए । तर हामीले न जमिन पायौ न लालपुर्जा ।
हालै पनि सरकारले सुकुम्बासी समस्या समाधानका लागि आयोग गठन गरेको छ । अनि हाम्रो तथ्याङ्क संकलन गरेर नेता कार्यकर्ताहरुले लगेका छन्। । हाम्रो छिमेकी पालिकाहरुले धमाधम लालपुर्जा तथा जमिन वितरण गरिरहेका छन्। । हाम्रै नगरपालिकाको माथिल्लो भेगका वडाहरुमा जग्गा तथा लालपुर्जा वितरण भइरहेको छ । तर करिब चालिस वर्ष देखि भुमिहिन बनाइएका हामी सन्थाल समुदायको समस्यालाइ चासो समेत दिइएको छैन ।
हाम्रो स्थानीय नेता कार्यकर्ताहरु चाहिँदैन हाम्रो बस्नलाई जमिन र घर भएको । उनीहरु चाहन्छन् उनीहरुको अधिया ठेक्का र खेताला भएर काम गरेको । देश विदेश गएर एक कठ्ठा जमिन लिने अवस्था छैन । जमिन दलालहरुले १५ बर्ष अघि १५/ २० हजारमा पाइने जग्गा १५ लाखमा बेच्न थाले । बिदेसमा कमाएको पैसाले घर खर्च ,दुखबिराममै सकिन्छ अलि अलि बचेको पैसाले कहिले घरजग्गा जोड्ने ?
हामीलाई सुनियोजित रुपमा राज्यले भुमिहिन सुकुम्बासी बनाइयो, भुतपूर्व गोर्खा सैनिकहरुले हलि अनि हालको बिकसित समाजले खेताला । के हामी सन्थालहरु यसैका लागि हौ ? यसो हो भने नगरपालिकाले आफ्नो नामको शाब्दिक अर्थ फेरोस् । किनकी हामी सन्थालबाट सतार बनाइएका तुच्छ जातिको भाषाबाट अर्थ लगाएर व्याख्या गर्न जरुरी छैन । होइन भने चाडो भन्दा चाडो हामी सन्थाल समुदायको समस्या भुमिहिन सुकुम्बासी समस्या समाधान गर । यति पनि गर्न नसके नगरपालिकाले समन्वय गरी सरकारले तोकेको दररेट मा किस्ताबन्दीमा जग्गा लिने व्यवस्था गर । यति हुन सके पनि हामी सन्थालहरु हाम्रो पुर्खाहरुले सिंह ,बाघ र भालु सँग लडेर बस्न योग्य बनाएको ठाउँमा बस्न सक्छौ नभए हामी बिस्थापित हुनेछौं ।                                                                                                    (उर्लाबारी ९)

Facebook Comments Box