दमक/ विभिन्न आकर्षक किसिमका नारा , महंगो ब्याजको प्रलोभन देखाउँदै दमक, विराटनगर र गाइघाटमा चार/पाँच बर्ष यता निक्षेप संकलन गरिरहेको तुलसी बहुमुखी सहकारी संस्थाले निक्षेपकर्ताहरुको निक्षेप रकम नदिइरहेको सार्वजनिक भएको छ ।
यो सहकारीले १८ प्रतिशत सम्म ब्याज दिने भन्दै निक्षेपकर्ताहरुसंग बचत रकम लिने गरेको छ ।

महंगो ब्याजको प्रलोभनमा परेर निक्षेपकर्ताहरुले मोटो मोटो रकम निक्षेप गरेका र सो रकम ब्यापारका नाममा भारतीय र चिनियाँ बजार सम्म पुरयाएका कारण अहिले निक्षेपकर्ताहरुको निक्षेप रकम फिर्ता गर्न नसकी बचतकर्ताहरुलाई रित्तो हात फर्काउने गरेको पाइएको छ ।
दमककी एक महिलाले घरमा शुभकार्यको तिथी मिति टुंगो लगाएर चाहिने आफनो बचत रकम झिक्न जाँदा सहकारीले आलटाल गरेको बताइन ।
विराटनगरमा मुख्य कार्यालय , दमक र उदयपुरको गाइघाटमा सेवा केन्द्र सञ्चालन गर्दै आएको यो सहकारीले दमक ९ मा पर्ने नाइट स्टेण्डमा सहकारी रहेकै भवनमा गार्डेन मार्ट समेत सञ्चालन गरेर भारत र चीनबाट सामग्रीहरुको व्यापार समेत गर्दै आएको छ । सहकारीले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने नारा दिएपनि यसको गार्डेन मार्टमा आयात गरिएका विदेशी ब्राण्डका रक्सी, चामल, मकै, गहुँ तथा चाइनिज तथा भारतीय ब्राण्डका इलेक्ट्रोनिक्स, कपडा, खेलौना आदीको कारोबार गर्ने गरेको छ ।
विराटनगरमा बचत रकम झिक्न पुग्दा सहकारीका सञ्चालकहरुले विभिन्न भाका राख्दै टार्ने गरेको र लामो समयसम्म बचत फिर्ता नगरेपछि पिडीतहरुले कार्यालय घेराउ समेत गरेका छन् । लामो समयसम्म बचत फिर्ता नभए पछि आफुहरु सहकारी घेराउ गर्न बाध्य भएको पिडीतहरुले बताएका छन् ।

विराटनगरस्थित तुलसी बहुमुखी सहकारीको मुख्य कार्यालयमा निक्षेप फिर्ता नपाएपछि भेला भएका निक्षेपकर्ताहरु