दमक/गणतन्त्र दिवसको अवसरमा झापाको दमकमा आज यातायात मजदुरहरुले रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
नेपाल यातातात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिको आयोजनामा दमकको गणतन्त्र चोकमा आयोजना गरिएको रक्तदानमा बिहान ११ बजे सम्ममा ५६ जनाले सहभागिता जनाएका छन् ।

यातायात मजदुर, व्यवसायी तथा इच्छुक रक्तदाताहरुले गणतन्त्र स्थापनाको स्मरण गर्दै रक्तदान गरेका हुन् । नेपाल यातातात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा भएको रक्तदानमा संघका जिल्ला उपाध्यक्ष बालकृष्ण् श्रेष्ठसहित मजदुर नेता तथा कार्यकर्ताहरुले उत्साहपूर्वक रक्तदान गरिरहेका छन् ।
त्यसैगरी गणतन्त्र दिवसकै अवसर पारेर नेपाल तरुण दल झापाले पनि आज विविध सेवामुलक कार्यक्रमहरु गर्दैछ । तरुण दल झापा क्षेत्र नं ५ का संयोजक गोकुल श्रेष्ठका अनुसार तरुण दलले जिल्लाका विभिन्न स्थानमा रहेका अनाथ तथा बाल आश्रमहरुमा पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम तय भएको जानकारी दिए । तरुण दल झापाका सभापति गोपाल तामाङको नेतृत्वमा विर्तामोड, धुलाबारी लगायतका स्थानमा सहयोग हस्तान्तरण कार्यक्रम गरिने तरुण दलले जनाएको छ । सोहि अवसरमा आज बिहान दमकमा नेपाली कांग्रेसले पनि गणतन्त्र दिवस विशेष शुभकामना आदनप्रदान कार्यक्रम गरेको बताइएको छ ।