दमक/ दमक ९ का युवा तेजप्रसाद आचार्यले बैदेशिक रोजगारीबाट आर्जन गरेको ८ लाख रुपैयाँ भन्दा बढी रकम पटक पटक गरेर घर नजिकै खुलेको तुलसी बहुमुखी सहकारीमा राखेका छन ।

तुलसी बहुमुखी सहकारीले ल्याएको दोब्बर योजनाका बारेमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरुबाट थाहा पाएका उनलाई कन्भिन्स गर्न सहकारीका कर्मचारीले भए भरको ताकत लगाए । २०७७ को जेठ १८ गते पहिलो पटक त्यो सहकारीमा ५ लाख रुपैयाँ निक्षेप जम्मा गरेका आचार्यले प्रति महिना ६ हजारका दरले ६० महिना अर्थात ५ बर्षनै थप निक्षेप पनि जम्मा गर्दै गए । उनले अहिले २ लाख ८२ हजार रुपैयाँ जम्मा गरिसकेका छन । आफनो मात्रै होइन उनले आमा कुमारी आचार्यको नाममा पनि २०७७ को फागुनमा १ लाख रुपैयाँ फिक्स डिपोजिट अर्थात मुद्धती खातामा जम्मा गरेका छन ।

गोरखा सैनिकबाट अवकाश पाएका दमक ६ का बिन्द बहादुर राईले पनि उस्तै आश्वासनमा ९ लाख रुपैयाँ रकम आफनो र आफना परिवारका सदस्यका नाममा त्यही सहकारीमा राखेका छन । २०७६ श्रावण १ गते उनले जम्मा गरेको रकमको पाँच बर्षे अवधि पुग्नै लागेको थियो । बिहिबार एकाएक विन्दबहादुरले तुलसी सहकारीले बचतकर्ताको पैसा डुबायो भन्ने सुनेपछि दगुरेर दमक ९ स्थित सहकारी भवनमा पुग्दा कार्यालय बन्द देखे । बिन्दबहादुर जस्ता निक्षेपकर्ताहरु ठुलो संख्यामा सहकारी भवन वरपर छरिएर बसेका थिए । तेजप्रसाद र बिन्दबहादुर मात्रै होइनन तुलसी बहुमुखी सहकारीमा मोटो रकम जम्मा गरिरहेका सयौं बचतकर्ताहरुको भोक निन्द्रा हराएको छ यतिबेला । बिहिबार आफनो बचत रकम फिर्ताको लागि पहल गरिदिन हार गुहार माग्दै नगरपालिका कार्यालय पुगेका सयौं सर्वसाधारणमा चिन्ता पिर संगै आक्रोश पोखिररहेका थिए । नगरपालिका कार्यालयमा भेटिएकी दमक ९ की गोमादेवी काफलेले १० लाख रुपैयाँ बचत रकम पनि सोही सहकारीमा जम्मा गरेको बताइन । उनले भनिन– गाउँमा १० कठठा जग्गा हाम्रो जिउनी थियो । जग्गा बेचेर आएको पैसा त्यही सहकारीमा राखेर ब्याज खर्च गर्ने योजना थियो । सबै चकनाचुर बनाइदियो ।

इन्दिराकुमारी श्रेष्ठले पनि छोरीहरुले छोरीहरुले विदेशबाट भरअभरमा चलाउनु भनेर पठाइदिएको पैसा तुलसी सहकारीमा नै राखेकी थिइन । घर छेउमा अफिस छ , सजिलो हुन्छ भनेर सहकारीमा खाता खोलियो, पैसा राख्दा ब्याज पनि राम्रो दिन्छौं भने मैंले पनि होला भनेर राखें – श्रेष्ठले भनिन ।

उल्लेखित पात्रहरु जस्तै दमकका धेरै सर्वसाधारण व्यापारी, बुद्धबृद्धा, भूपू शिक्षक, भूपू सैनिकहरु लगायतलाई पहिल्याएर करोडौं रुपैंयाँ विभिन्न आकर्षक नारा र प्रलोभनमा पार्दै विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारीले लिइसकेको छ ।

दमकमा तुलसी सहकारीले आफनै भनि दाबी गर्दै आएको एउटा घर भाडामा लिएर चिनियाँ कम्पनीका विभिन्न उत्पादनहरु ऋधिक मात्रामा जम्मा गरी गार्डेन मार्ट सञ्चालन गरि आएको थियो । मार्टमा आकर्षक खेलौनादेखि खाद्यान्न सम्मका सामग्रीहरु समेत राखिएको छ । यसको व्यापार बाहेक सहकारीका कुनै पनि सदस्यलाई उसले कर्जा लगानी गरेको पाइँदैन । कर्जा लगानी नगर्ने, सदस्यबाट आकर्षक नारा देखाएर निक्षेप मात्रै भेला गरेर तुलसी सहकारीले यहाँ ब्रहमलुट मच्चाएको सहकारी क्षेत्रका जानकारहरुनै बताउँछन । संस्थाले आफना सदस्यसँग निक्षेप मात्रै लिने होइन आवश्यक परेको बेला धितो राखेर सदस्यको आम्दानी अनुसारको तिर्न सक्ने कर्जा पनि मागेको अवस्थामा दिनु पर्ने हो तर तुलसीले सबैसंँग निक्षेप मात्रै लिएको छ कसैलाई कर्जा दिएको पाइँदैन– सहकारी सम्बन्धिका एक अनुभवीले भने ।

Facebook Comments Box