दमक/झापाको दमकमा महिलाहरुलाई कृष्टलको माला तथा गहना बनाउने सीप सिकाउन थालिएको छ ।

महिलाहरुमा समयानुकुल व्यवसायिक सीप सिकाएर स्वरोजगारको अवसर सिर्जना गर्ने उदेश्यले दमक नगरपालिकासंगको सहकार्यमा दमक उद्योग वाणिज्य संघले त्यस्तो सीप सिकाउने बन्दोबस्ती मिलाएको हो । वाणिज्य संघको सभाकक्षमा शुरु भएको तालिममा नगर भित्रका ५६ जना महिला सहभागी रहेका संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।

वाणिज्य संघकी महिला उद्यम विकास समिति संयोजक रमा लिम्बुको अध्यक्षता र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन कार्यक्रमका वक्ताहरुले सहभागीहरुलाई आफूले सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सुझाव दिए । तालिमको प्रशिक्षकहरुमा धनमाया लिम्बु र प्रतिमा मंग्रान्ती रहेका छन् ।

 

उद्घाटन कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र ढकाल, दमक जेसीजका अध्यक्ष भीमराज चौंलागाइँ, गल्ला तथा किराना व्यवसायी संघ दमकका अध्यक्ष कृष्ण अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संघका कार्य समितिका सदस्यहरु तथा विभिन्न वस्तुगत संघका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । महिला उद्यम विकास समिति सदस्य गंगादेवी ढकालले स्वागत मन्तव्य राखेको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष गुरागाइँले गरेका थिए । सो तालिम आगामी जेठ २९ गते सम्म चल्ने वाणिज्य संघका कार्यालय सचिव निरज विष्टले बताए ।

Facebook Comments Box