दमक/ तराईमा होली पर्व उल्लासपूर्वक मनाइएको छ । केही समय यता व्यवसायिक क्षेत्रको कारोबारमा आएको मन्दीको पीडामा रहेका व्यवसायीहरु समेत होली मिलन कार्यक्रममा उल्लासपूर्वक सहभागी भएका छन । दमकमा धेरै जसो सर्वसाधारणले स्वतस्फूर्त रुपमा आआफनो व्यापार व्यसाय बन्द गरेर पनि सामुहिक होली मिलन कार्यक्रममा सहभागी भएका छन ।
दमक उद्योग वाणिज्य संघको मुख्य आयोजनामा दमक जेसीज लगायत दर्जनौं सामाजिक संघ संस्थामा आवद्ध प्रतिनिधिहरु सहभागी भएर दमक चोकमा होली मिलन कार्यक्रम गरेका छन ।

दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको सभापतित्वमा आयोजित कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोज लामा, कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँ, निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य गणेश बस्नेत, लायन्स क्लब इन्टनेशनल डिस्ट्रिक ३२५ सी बर्ष २०२२/०२३ का कोषाध्यक्ष बबरजंग थापा लगायतको आतिथ्य रहेको थियो । त्यसैगरी नेपाली कांग्रेस झापा क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा क्षेत्र (२) को आयोजनामा कांग्रेसको दमकस्थित पार्टी कार्यालयमा पनि होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश सभा क्षेत्रका सभापती रवि न्यौपानेको सभापतित्व र पार्टी केन्द्रीय सदस्य तथा पूर्व सांसद महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा पार्टी नेतृ एवं दमक नगर उपप्रमुख रेगिना भट्टराई, पार्टीका एक नम्बर प्रदेश समिति सदस्यद्धय भुमिराज राई, चन्द्रा खडका, क्षेत्रीय सभापती ढुण्डीराज भण्डारी, पार्टी नेता सुरेश सुब्बा, नगर सभापती प्रकाश प्रसाइँ लगायत विभिन्न तह तप्काका पार्टी तथा भातृ संघका नेताहरुको आतिथ्य रहेको थियो । त्यसैगरी होलीकै अवसरमा कांग्रेस दमक– ८ को वडा समितिले एक ज्येष्ठसहित तीन जनालाई सम्मान गरेको छ ।
पार्टीका क्रियाशील सदस्य मध्ये स्थानीय संघसंस्थाहरुमा हालै निर्वाचित हुने ढुण्डीराज भण्डारी दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष, गोमा बुढाथोकी नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाकी उपसभापति र ज्येष्ठ नागरिकका रुपमा गंगा घिमिरेलाई सम्मान गरिएको हो । पार्टीका वडा सभापति चन्द्र खत्रीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको बताइएको छ ।



