दमक । झापाको दमकमा आज आयोजित कार्यक्रमकाबीच एक जना नेपाली भाषी भारतीय स्रष्टासहित ७ जना स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । साहित्य कला संगम दमकमा स्थापित भवानी मिश्र पुरस्कार, सिर्जनशील साहित्य पुरस्कार र तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट आसाम डिगबोइका लेखक तथा साहित्यकार युद्धबीर राना, वरिष्ठ साहित्यकार चुडामणी रेग्मी, युवराज नयाँघरे, लोकगायक सिताराम ताजपुरिया, प्रतिभा पौडेल, मुकुन्द प्रयास र हिम्मत नेम्वागंलाई सम्मान गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्य र साहित्यकला संगम दमकका अध्यक्ष विष्णु न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा कुलपति राई, प्राज्ञ सुमित्रा वागंदेल, दमक नगर प्रमुख रामकुमार थापा, साहित्यकार डा. गोपाल भण्डारी, पुण्य खरेल, अक्षयकोष दाता डा. लेखनाथ न्यौपाने लगायतले सम्मानित स्रष्टाहरुलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेका थिए ।
त्यसैगरी वरिष्ठ लोकगायक सिताराम ताजपुरियालाई तुलसादेवी न्यौपाने स्मृति पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वापत जनही नगद ३५ हजार रुपैयाँका दरले प्रदान गरिएको थियो । सो अवसरमा लोकगायक ताजपुरिया र गायिका लक्ष्मी ताजपुरियाले गीत प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए । कार्यक्रममा विभिन्न स्रष्टाहरुले रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकला संगमका उपाध्यक्ष विन्दु मुकदर्शकले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यबारे प्रष्टयाएका थिए ।