दमक/ झण्डै एक दशक अघिदेखि झापाको दमकमा स्त्री तथा प्रसुती सम्बन्धीको उपचार सेवामा दख्खल राख्ने विशेषज्ञ चिकित्सकहरुको अगुवाईमा सञ्चालनमा आएको ओम मेची अस्पतालमा सरकारले ल्याएको स्वास्थ्य वीमाको उपचार सेवा शुरु भएको छ ।
दमक ७ स्थित आफ्नै भवनमा सञ्चालित सो अस्पतालमा १ भदौदेखि सरकारी स्वास्थ्य वीमा गरिएका विरामीहरुको उपचार सेवा शुरु गरिएको हो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. निरञ्जनसिंह वोगटीले सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम मार्फत दिईने सेवा मध्ये स्त्री तथा प्रसुती रोगको उपचार सेवा विशेषज्ञ चिकित्सकहरुबाटै प्रदान गरिने बताए ।

कतिपय अस्पतालहरुमा स्वास्थ्य वीमा कार्डका आधारमा दिइने उपचार सेवामा विशेषज्ञ डाक्टरको सेवा नरहेको अवस्थामा ओम मेची अस्पतालले आफ्नो क्षमता र दक्षताका आधारमा स्त्री तथा प्रसुती रोगका विरामीहरुलाई विशेषज्ञ डाक्टरको सेवा प्रदान गर्न शुरु गरेको डा. बोगटीले बताए ।
सो अस्पतालमा डा. बोगटीसहित डा. शंकरप्रसाद हुजदार र अन्य चिकित्सक तथा कन्सल्टेन्टहरुको समेत सेवा रहेको छ । सो अस्पताल स्त्री तथा प्रसुतीका बिषयमा मेची अञ्चलमै नाम चलेको अस्पतालका रुपमा चिनिन्छ ।

Facebook Comments Box