दमक/ आजदेखि नयाँ बर्ष तथा नयाँ दशक प्रारम्भ भएको छ । २०७९ विदा भएसँगै प्रारम्भ भएको २०८० लाई नव दशक प्रारम्भ बर्षका रुपमा समेत लिइएको छ । ७० को दशकवाट अब ८० को दशकमा पाइला टेक्दै छौँ । २०८० को तिथि मिति, चाडपर्व, शुभ साइत, सार्वजनिक बिदाका सूचीहरुसहित विक्रम संवत २०८० को बार्षिक पात्रो आजैदेखि शुरु भएको छ ।
भारतको उज्जैनका पौराणिक राजा विक्रमादित्यले चलाएको संवत्को रूपमा विक्रम संवत्लाई चिनिन्छ । तर, यसलाई पुष्टि पार्ने गरी कुनै तथ्य फेला नभएको हुँदा विक्रम संवत्को बारेमा धेरै रहस्यहरू छन् । केही इतिहास विद्हरूले विक्रमादित्यको अस्तित्वको पुष्टि नभएको हुँदा विक्रम संवत नेपालको मौलिक संवत भएको तर्क समेत गर्दछन् । अहिले विश्वभरि नै यो संवत्लाई आधिकारिकता दिएको देश नेपाल मात्र हो । अन्य एसियाली राष्ट्र भारत, बङ्गलादेश र श्रीलङ्कामा भने यसलाई सांस्कृतिक क्यालेन्डरका रूपमा लिइन्छ । यो संवत सूर्य मेष राशिमा प्रवेश गरेको दिन अर्थात वैशाख १ गतेबाट प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई मेष सङ्क्रान्ति पनि भनिन्छ ।

कसरी सुरु भयो विक्रम संवत ?
कसैले विक्रम संवत्को सुरुवात राणा कालमा चन्द्र शमशेरको पालोमा भएको थियो भन्ने गर्दछन् भने कसैले राणा प्रधानमन्त्री देव शमशेरले आधिकारिकता दिई सरकारी संवत्को औपचारिक मान्यता दिएको तर्क गर्छन् । तर, लिच्छवी, मल्लकाल , सेन वंश अनि पृथ्वी नारायण शाहका शिलालेखहरूमा विक्रम संवत उल्लेख भएकाले यो कथन झुटो ठहरिन्छ भन्ने मतहरू पनि पाइएको छ । विक्रम संवत भन्दा अगाडि नेपालमा नेपाल संवत र शक संवत्को प्रयोग हुने गरेको कथनहरू सुन्न पाइन्छ ।

नेपालमा विक्रम संवत बाहेक जनवरी १ मा अङ्ग्रेजी नव वर्ष, नेपाल संवत्को नयाँ वर्ष, किराँत तथा थारु समुदायले माघ १ गते मनाउने नयाँ वर्ष र गुरुङ, शेर्पा लगायतका हिमाली र पहाडी समुदायका मानिसहरूले आफ्नो छुट्टै नयाँ वर्ष (ल्होसार) उत्तिकै हर्ष र उत्साहका साथ मनाउँदछन् ।

विक्रम संवत्को अर्को नाम चन्द्र मास
विक्रम संवत्का समग्र तिथि मितिहरू पृथ्वी र चन्द्र बिचको कोण अनि अवस्थितिमा फरक पर्दछन्, त्यसैले यसलाई चन्द्र मास भनिएको हो ।
चन्द्र मासमा समयलाई कसरी मापन गरिन्छ ?
चन्द्रमा र सूर्यबिचको देशान्तर कोणको १२ डिग्रीको वृद्धि हुने समय मापलाई तिथि भनिन्छ, सामान्यतया एउटा तिथि १९ देखि २६ घण्टासम्मको हुन्छ । पक्ष भन्नाले १५ वटा तिथिहरू हुन् र “कृष्ण र शुक्ल” पक्ष गरी दुई वटा पक्षहरू हुन्छन् । दुई वटा पक्षहरू मिलेर लगभग २९ दशमलव ५ तिथिको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछि कृष्ण पक्षको अँध्यारो निस्पट्ट समयसम्मको पक्ष एक मास हो । २ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।
नयाँ वर्षको दिन पर्ने अन्य विशेष पर्वहरू
नयाँ बर्षको दिनदेखिनै पूर्वी तराईमा सिरुवा पर्व, जुडशीतल, ठिमीमा जिब्रो छेड्ने जात्रा, सिन्दूर जात्रा भक्तपुरमा बिस्काः जात्रा लगायतका पर्वहरू, पर्दछन् ।
चैत्र वैशाखमा हावाहुरी चल्ने र आगो लाग्ने सम्भावना धेरै हुने भएकाले पूर्वी तराइका मानिसहरूले आफ्नो घरको छत, बोट बिरुवा, तुलसी मठहरूमा शुद्ध जल चढाएर आफ्नो कुल देवताको पूजा गर्दै सिरुवा पर्व मनाउँछन् ।
यस दिन ठुला बडाले हातमा शुद्ध जल लिएर आफूभन्दा सानोको टाउकोमा छ्यापी शुद्ध सोच अनि सुस्वास्थ्यको आशीर्वाद स्वरूप जुडशीतल प्रदान गर्ने गर्दछन्। । सानोले भने ठुलोको खुट्टामा जल चढाएर आशीर्वाद लिने गर्दछन् । यो वर्षको पहिलो पर्व भएकाले थारु भाषामा यसलाई “सिरुवा” भनिएको हो ।
सिन्दूर जात्रा
सिन्दूर जात्रालाई बिस्का जात्राको एउटा अंशको रूपमा लिइन्छ । ठिमीमा ३२ खटका दिदीबहिनीको भेट भएको खुसीयालीमा मनाइने यो जात्रा साथीभाइसँग फुस्रो सिन्दूर लगाएर, विभिन्न देवताहरूलाई खटमा राखी बालकुमारी मन्दिर परिक्रमा गर्दै मनाइन्छ ।

 

 

Facebook Comments Box