दमक/ झापाको दमकमा यहि भदौ २० गते हुने तय भएको दमक उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेद्वारी चयनमा निक्कै सकस ब्यहोरेका सबै दलहरुले ६ भदौ सम्म  आफ्ना उम्मेद्वारको औपचारिक घोषणा नगर्ने संकेत देखिएको छ ।

नेकपा र कांग्रेस नेतृत्वका व्यवसायी नेताहरु एक अर्काका उम्मेद्वारलाई हेरेर आफ्ना उम्मेद्वार तय गर्ने कसरतमा रहेको भनिएपनि नेकपा भित्र आन्तरिक रुपमै कसलाई उम्मेद्वार बनाउने भन्ने बिषयमा गम्भिर मतभेद रहेका कारण उम्मेद्वार घोषणामा ढिलाई भएको समाचार स्रोतको दाबी छ । कांग्रेस नेतृत्वको प्यानलले भने सके सम्म सबै दल तथा समुहको समावेशी प्रतिनिधित्व गराउने भन्दै उम्मेद्वारको अन्तिम टुंगो लगाउन ढिलाई गरेको बुझिएको छ ।

संघको यस पटकको निर्वाचनमा अघिल्लो निर्वाचनमा जस्तो व्यवसायीहरुको स्वतन्त्र नामको प्यानल बन्ने नबन्ने निक्र्यौल त्यो उम्मेद्वारी घोषणा पछि मात्रै हुने कतिपय उम्मेद्वारका आकांक्षी व्यवसायीहरुल बताईरहेका छन् ।
प्यानलनै बन्छ या त एकाध पदमा स्वतन्त्र उम्मेद्वार खडा हुन्छन त्यो दलहरुको उम्मेद्वारी घोषणा पछि मात्रै थाहा हुनेछ – पदाधिकारीमा उम्मेद्वारको आकाक्षां राखेका नेकपा निकटका व्यवसायीले भने ।
ति व्यवसायीले भने – सक्षम नेतृत्वलाई पार्टीले उठायो भने स्वतन्त्र उम्मेद्वारको खाँचो पर्दैन तर सक्षम र योग्न उम्मेद्वारलाई गुटका नाममा पाखा लगाउने काम भयो भने स्वतन्त्र उम्मेद्वार हुनेछन त्यो कति के संख्यामा हुन्छन भन्ने अहिलेनै भन्न सकिन्न ।

पदाधिकारीमा नेकपाबाट देखिएनन महिला उम्मेद्वार

अहिले सम्म सत्तारुढ नेकपाबाट मुख्य पाँच पदमा उम्मेद्वारीका लागि चर्चामा रहेकाहरु मध्ये कोही पनि उद्योगी व्यापारी महिला छैनन् । सो पार्टी निकटबाट महिला उम्मेद्वारले मुख्य पदमा उम्मेद्वारीका लागि स्थान नपाउने भएपछि कोहि पनि योग्य उम्मेद्वार समेत अघि नसरेका बताइएको छ । कार्य समिति सदस्यमा महिला कोटामा अहिले सम्म ३ जना आकांक्षीहरुका नाम बजारमा चर्चामा रहेका छन् । नेकपाबाट कविता पौडेल अधिकारी, जमुना निरौला अधिकारी र लक्कि सिटौलाको नाम चर्चामा रहेको बताइएको छ ।
नेपाली कांग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक गठबन्धनबाट भने संघको तृतीय उपाध्यक्ष पदमा संघकी वर्तमान कार्य समिति सदस्य तथा उद्यमी व्यवसायी महिला नेतृ रमा लिम्बुलाई उम्मेद्वार बनाउने लगभग पक्कापक्की जस्तै छ । कांग्रेस नेतृत्वको प्यानलबाट महिला कोटामा उम्मेद्वारका लागि अहिले सम्म कसैको नाम सार्वजनिक भएको छैन । राप्रपा, समाजवादी पार्टी नेपाल, लिम्बुवान लगायतका दलहरुसंग समेत कांग्रेसको सहकार्य रहेका कारण महिला कोटामा कसलाई उठाउने भन्ने बिषयमा आन्तरिक छलफलमै केन्द्रित रहेका बताइएको छ ।

फिर्ताको चर्चाले हंगामा

नेकपाबाट संघको अध्यक्षमा दाबी गरेका मध्ये विमल खतिवडा र प्रथम उपाध्यक्षका उम्मेद्वार युवराज घिमिरेले उम्मेद्वार चयनमा भएको ढिलाईप्रति असन्तुष्टि जनाउँदै उम्मेद्वारीको दाबी फिर्ता लिएको भन्ने बिषयले नेकपा निकटका व्यवसायीहरुमा भने हंगामा मच्चिएको छ ।
आन्तरिक रुपमा अध्यक्षका आकांक्षी खतिवडाले उम्मेद्वार फिर्ताको प्रकृयामा अघि बढिसकेका कारण संघको अध्यक्षमा राजेन्द्र ढकाल नै पार्टीको तर्फबाट आधिकारिक उम्मेद्वार बन्ने निश्चित रहेको उनी निकटका व्यवसायीहरुको तर्क छ ।
नेकपाबाट वरिष्ठ उपाध्यक्षमा गोपाल गुरागाइँ र राजकुमार श्रेष्ठ , प्रथम उपाध्यक्षमा युवराज घिमिरे ब्याक भईसकेका कारण महेन्द्र खड्का, टिका प्रसाइँ, घनश्याम खनाल, गंगा ढकाल, द्धितीय उपाध्यक्षमा ज्ञानु पौडेल, तृतीय उपाध्यक्षमा राजेन्द्र दंगाल, पशुपति बराल लगायतको नाम चर्चामा छ ।

कांग्रेस नेतृत्वको गठबन्धनमा के हुँदैछ ?

कांग्रेस नेतृत्वको गठबन्धनले यस पटक नेकपा भित्रको आन्तरिक कलह र तीन वटै तहमा नेकपाको सरकार भएका कारण व्यवसायीहरुले खेप्नु परिरहेको पिर मर्काको प्रभावका कारण यस पटकको निर्वाचनको परिणाम आफूहरुको पक्षमा आउने अड्कलबाजी लगाईरहेको छ ।
निर्वाचन जित्ने सम्भावना बर्षका रुपमा यस बर्षको निर्वाचनलाई लिँदै कांग्रेस नेतृत्वका अन्य दल जसरी पनि निर्वाचन जित्ने ध्याउन्नमा लागेका छन् ।
सो गठबन्धनको तर्फबाट संघको अध्यक्षमा अहिले सम्म गोकूल श्रेष्ठको नाम चर्चामा छ भने विकल्पका रुपमा संघको विधान अनुसार योग्य उम्मेद्वारकै सूचीमा पूर्व अध्यक्ष प्रकाश प्रसाइँ, पूर्व उपाध्यक्षहरु बबरजंग थापा, माधव पराजुली लगायतको नाम  छ ।
संघको वरिष्ठ उपाध्यक्ष पदमा यस अघि खासै उम्मेद्वारको चर्चा नरहेकोमा पछिल्लो समय थुप्रै सम्भावित उम्मेद्वारको नाम बाहिर आएको छ । जस अनुसार वरिष्ठ उपाध्यक्षका लागि कांग्रेसका सुरज आचार्य र राप्रपाका ताराप्रसाद अधिकारीको नामका बिषयमा गठबन्धन भित्र छलफल भईरहेको बताइएको छ ।
प्रथम उपाध्यक्षका लागि सो गठबन्धनबाट राजु खड्का, द्धितीय उपाध्यक्षका लागि राप्रपाका राजकुमार योङया र तृतीय उपाध्यक्षका लागि एक मात्रै महिला उम्मेद्वारका रुपमा रमा लिम्बुको नाम लगभग पक्कापक्की जस्तै भएको ति गठबन्धन दलका स्थानीय नेताहरुले बताएका छन् ।

Facebook Comments Box