लेटाङ/ मोरङको लेटाङ ९ जाँतेमा १२ बर्ष अघि समुदायको पहलमा स्थापित गुरुकूल सञ्चालनमा आर्थिक अभाव भएपछि स्थानीयबासीहरु महायज्ञ मार्फत सहयोग जुटाउने अभियानमा लागेका छन ।
२०६८ सालमा ख्यातिप्राप्त विद्वान तत्कालिन राजपरिषद् सदस्य आचार्य श्री खेमराज केशवशरणद्वारा कथा वाचन गरि सञ्चालन गरिएको महायज्ञमा संकलित सहयोग रकमबाट स्थापना गरिएको श्री वैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठको अस्तित्व जोगाउन समुदायका धार्मिक तथा शैक्षिक सरोकारवालाहरु अभियानमा लागेका हुन ।

महायज्ञ सम्पन्न गर्न सोमनाथ निरौलाको अध्यक्षतामा कृष्ण खतिवडा सचिव र मनोरथ घिमिरे कोषाध्यक्ष रहेको मूल आयोजक समिति गठन गरेर धमाधम तयारी थालिएको छ । महायज्ञको अन्तिम तयारीमा छौं–आयोजक समितिले भनेको छ । विभिन्न ठाउँका २५ जना बटुकहरु सो विद्यापीठमा अध्ययनरत छन् । बटुकहरुलाई अध्ययनका लागि कक्षाकोठा, आवास कक्षका साथै दैनिक उपभोग्य वस्तु बन्दोबस्ती गर्नका लागि बजेटको आवश्यक भएकाले महायज्ञ सहयोगार्थ महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक मूल समितिका कोषाध्यक्ष मनोरथ घिमिरेले जानकारी दिए ।
यो बिद्यापीठ केही समय बन्दप्राय अवस्थामा रहेको थियो । घिमिरेले भने– समुदायको ठुलो लगानी र साझा प्रयासबाट खोलिएको यो एउटा समुदायकै सम्पदा हो यसको संरक्षण र बिकास सबैको साझा दायित्व हो भन्ने महसुुस गरेर अहिले पुरै समाज जुर्मुुराएको छ देशविदेशबाट सबै भक्तजनहरुले सहयोग गर्नुहुन्छ भन्नेमा हामी आशावादी छौं । सो बिद्यापीठ सञ्चालन सहयोगार्थ आउँदो बैशाख २४ गतेदेखि ३० गतेसम्म श्रीमद्भागवत महापुराण तथा धनधान्याञ्चल महायज्ञ सञ्चालन गर्न लागिएको छ । महापुराणमा ख्यातिप्राप्त व्यक्तित्व आचार्य श्री शीतलकृष्ण महाराजबाट कथावाचन गरिने आयोजक समितिले जनाएको छ ।