दमक/दमक नगरपालिकाले किसानहरुलाई परिचय पत्र वितरण शुरु गरेको छ । कृषि पेशालाई सम्मानित पेशाका रुपमा अनुभुति गराउने सरकारको नीति अनुसार किसानहरुको वर्गीकरण गरि परिचय पत्र दिन शुरु गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले जानकारी दिइन ।

बिहीबार नगरपालिकाको सभाकक्षमा आयोजित संक्षिप्त कार्यक्रमका बीच दमक नगर प्रमुख राम कुमार थापा, उपप्रमुख रेगिना भटटराई, प्रमुख प्रशासकिय अधिकृत डमरु प्रसाद निरौला, नगरपालिकाका आर्थिक बिकास संयोजक इन्द्र गुरुङ लगायतले परिचय पत्र वितरण प्रारम्भ भएको जनाउ दिए । सकारले गरेको कृषि गणनाका आधारमा तयार पारिएको करिब ८० वटा परिचय पत्र किसानहरुलाई वितरण गरिएको छ भने ७०० बढी किसानलाई नगरपालिकाका वडा कार्यालयहरुसँगको समन्वयमा वितरण गरिने शाखा प्रमुख भट्टराईले जानकारी दिएकी छिन ।
किसानहरुलाई राज्यबाट प्रदान गरिँदै आएको विभिन्न किसिमका अनुदान निष्पक्ष र पारदर्शीरुपमा वितरणका लागि किसान परिचय पत्रले सहयोग पुरयाउने विश्वास लिइएको नगर प्रमुख थापाले बताए । उनले अहिले सम्म दमकमा केही सिमित समुहले आफना कार्यकर्ताका लागि मात्रै कृषि अनुदान दिएको संकेत गर्दै आफनो कार्यकालमा त्यसो हुन नदिने प्रतिबद्धता जनाए । उनले सहभागी कृषक तथा सञ्चारकर्मीहरुलाई लक्षित गर्दै भने– म यो विकृतिलाई हटाउन चाहन्छु, तपाइँहरु साथ दिनुहोस । उनले दमकको उत्तरी क्षेत्र र दक्षिणी क्षेत्रमा अग्र्यानिक कृषिको नाममा राज्यको अनुदान दुरुपयोग भएको संकेत गर्दै भने – अहिले नाम यो उ केही नभनुँ यहाँ कृषिका नाममा अनुदानको दुरुपयोग भएको हामीले पाएका छौं । नगर उपप्रमुख भट्टराईले विना भेदभाव वास्तविक किसानसम्म राज्यका अनुदान पुरयाउने नगरपालिकाको नीति रहेको उल्लेख गरिन । उनले समयमा मल बिउ नपाउनु किसानहरुका लागि बिडम्बना भएको भन्दै यसको दिगो समाधानका लागि आवश्यक उपायहरु अवलम्बन अपनाउन नगरपालिका तयार रहेको पनि जनाइन ।

आर्थिक विकास समिति संयोजक तथा वडा नम्वर ५ का वडाध्यक्ष इन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कृषि शाखाका अधिकृत रुपक बुढाथोकीले किसानलाई परिचय पत्र दिनुको आवश्यकता र औचित्यबारे प्रष्टयाए । प्रमुख प्रशासकीय अधिकृत निरौला, वडा नम्वर १ का वडाध्यक्ष हरि प्रसाद न्यौपाने लगायतको पनि आतिथ्यता रहेको थियो भने परिचय पत्र पाउने किसानका तर्फबाट त्रिलोचन न्यौपानेले मल, बीउ नपाउने र उत्पादन गरेको कृषि उपजको उचित मूल्य नपाउने समस्याले किसानहरु पीडित रहेको गुनासो राखेका थिए ।
