दमक/ झापाको दमकमा आज आइतबारदेखि भट्टराई कुलवंश प्रतिष्ठानले श्रीमद भागवत महापुराणको शुरुवात गरेको छ । चर्चित भागवत मञ्जरी राधिका दाशीको प्रमुख वाचकत्वमा हुने महापुराणको भट्टराई कूल वंश प्रतिष्ठान केन्द्रिय समितिले आयोजना गरेको हो । श्रीमद भागवत महापुराणको सन्मुखमा आज कलश यात्रा निकालिएको छ भने भोली (सोमबार)देखि संगीतमय कथावाचन शुरु हुने आयोजक समितिले जनाएको छ ।

दमक ४ कृष्णमन्दिरबाट करिब ५ सम मिटर दक्षिणपूर्वमा अवस्थित धार्मिक पर्यटकीयस्थल बशिष्ठ आश्रममा रहेको प्रतिष्ठान परिसरमा शुरु भएको महापुराणको सन्मुखमा आयोजक समितिले पत्रकार सम्मेलन गरेर महापुराणको कार्यक्रमहरु र उद्धेश्यका बारेमा प्रष्टयाएको छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईले प्रतिष्ठानलाई धार्मिकस्थल पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने योजना रहेको बताए ।

महापुराणको उद्धेश्य पितृमोक्षको कामना गर्ने भएपनि यसले स्थानीय विकास निर्माणसँगै प्रतिष्ठानलाई आम नागरिकहरुको साझा संस्थाको रुपमा अघि बढाउन चाहेको बताए । उनले प्रतिष्ठान परिसर करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको र सो परिसर भएर बग्ने वेतनी खोलालाई वेत्रावती गंगानदीका रुपमा लिँदै पितृमोक्ष धाम निर्माण गरिने जानकारी दिए ।

महापुराण व्यवस्थापन मूल समितिका संयोजक सूर्यप्रसाद भट्टराईले पुराणका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको र देशविदेशबाट भट्टराई बन्धु, ज्याइँ, चेला, भाञ्जाभाञ्जीहरुसहित धार्मिक भक्तजनहरु आउने क्रम धमाधम चलिरहेको बताए ।

सवा करोड दिप प्रज्वलन गरिने

वैशाख ३० गते सम्म सञ्चालन हुने महापुराणको अन्तिम दिन आआफना कूल पितृहरुको मोक्षको कामना गर्दै एक करोड २५ लाख वाती ज्वलनको कार्यक्रम समेत राखिएको छ । प्रतिष्ठानको छोरीबुहारी सञ्जालको सक्रियता र व्यवस्थापनमा बालिने सवा करोड बात्तीको जोहो भइसकेको छोरीबुहारी सञ्जाल झापाकी जिल्ला संयोजक सकुन्तला भट्टराईले जानकारी दिइन । त्यसैगरी महापुराणको समापनमा सामुहिक ब्रतबन्धको कार्यक्रम समेत राखिएको प्रतिष्ठानकी कृतिका भट्टराईले जनाएकी छिन ।

Facebook Comments Box