दमक/ दमक उद्योग वाणिज्य संघको शुक्रबार सम्पन्न २८ औं साधारण सभाको अवसरमा दमकका दुई जना पुराना र सफल व्यवसायीलाई सम्मान गर्नुका साथै एक जना पत्रकारलाई वाणिज्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
संघका अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यमा भएको साधारण सभामा दमकका पुराना पुस्तक व्यवसायी दुर्गा पौडेल र सौन्दर्यकला व्यवसायी सरस्वती सुब्बालाई सम्मान गरिएको हो । त्यसैगरी पत्रकारिता पुरस्कार पत्रकार भुमीराज पराजुलीलाई प्रदान गरिएको छ ।
संघले वरिष्ठ उपाध्यक्ष विमल खतिवडाको संयोजकत्वमा साधारण सभा तयारी उपसमिति तथा विभिन्न उपसमितिहरु गठन गरेर साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइँ, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख राम पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
खतिवडाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष गोपाल गुरागाइँले गरेका थिए । वाणिज्य संघले अन्य कार्यक्रममा झैं सबै पत्रकारलाई भने यस पटकको साधारण सभाको उद्घाटनमा निमन्त्रणा गरेको थिएन ।