दमक/ जिल्ला सहकारी संघ झापाले संघका गतिबिधिहरु सार्वजनिक गर्दै सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
बुधबार विर्तामोडमा आयोजित कार्यक्रममा संघले संस्थागत गतिबिधिहरुसँगै जिल्लामा सहकारीहरुको बिद्यमान अवस्था, संघले निर्वाह गर्दै आएको भुमिका , सञ्चार क्षेत्र र राज्य पक्षले निर्वाह गर्नुपर्ने भुमिकाका बिषयमा अन्तरक्रियात्मक छलफलसहित अभिमुखीकरण सञ्चालन गरेको हो ।
सो अवसरमा अभियानकर्मीहरुले सहकारीको वित्तिय जोखिम न्यूनिकरण गर्दै सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यवस्था भएको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना गर्न माग गरे । सहकारीमा देखिएको तरलता समस्या तत्काल समाधानका लागि राष्ट्रिय सहकारी बैंक मार्फत परिचालन हुने गरी सहुलियत ब्याजदरमा ३ बर्ष सम्मका लागि १० अर्ब रुपैयाँ उपलब्ध गराउनुपर्ने पनि सहकारी अभियानकर्मीहरुको जोड छ ।
संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा सहकारी अभियान्ताहरु कमलकुमार घिमिरे र अर्जुन दंगालले कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियानको इतिहास, अवस्था र चुनौतीहरुका बिषयमा विस्तृत जानकारी गराए । कार्यक्रममा बचत तथा ऋण सहकारी महासंघका केन्द्रिय सदस्य घनश्याम अधिकारीले देशभरका सहकारी संस्थाहरुमा देखिएको तरलता अभाव र पछिल्लो अवस्था सिर्जना हुनुमा राज्यपक्ष प्रमुख कारकका रुपमा रहेको उल्लेख गरे । उनले काठमाडौं, धरान र मोरङका केही सहकारी संस्थाहरुको उदाहरण प्रस्तुत गर्दै झापामा तुलनात्मक रुपले सहकारी संस्थाहरु बलियो अवस्थामा रहेको भन्दै बचाउ गरे ।
उनले अहिले समस्याग्रस्त देखिएका सहकारी संस्थाहरुलाई एकीकरणको प्रकृयाबाट सवल संस्थाको संख्यामा बृद्धि गर्न सकिने बताए । उनले कतिपय सहकारी संस्थाहरुमा सञ्चालकहरु स्वयंले नियमविपरित कर्जा लिँदा समस्या देखिएको बताउँदै सबै सहकारीहरुलाई नियमन गरी मापदण्ड अनुसार सञ्चालनको वातावरण बनाउन सबै पक्षको भुमिका उत्तिकै हुने पनि प्रष्ट पारे ।
सहभागीहरुले उठाएका जिज्ञासाहरुको समाधान गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेले बचत कर्ताहरु एकैसाथ बचत रकम फिर्ता लिन संस्थामा आउँदा जुनसुकै संस्थाले पनि फिर्ता गर्न नसक्ने अवस्था आउने निश्चित रहेको बताए । सहभागीहरुले उठाएका जिज्ञासाहरुको सहकारी अभियान्ताहरु भवानी दंगाल, मिना ढकाल लगायतले पनि जवाफ दिएका थिए ।
यद्यपी संस्थाका सञ्चालकहरुले बचतकर्ताको बचत रकमको सुरक्षा गर्ने मुख्य जिम्मेवारीलाई भने भुल्न नहुने अभियाकर्मीहरुको साझा निष्कर्ष थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले सञ्चारकर्मीहरुलाई लक्षित गरेर जिल्ला सहकारी संघबाट संस्थागत रुपमै विभिन्न कार्यक्रमहरु ल्याउन सुझाव दिए ।
कार्यक्रममा जनाइए अनुसार झापामा कूल जनसंख्याको ४५ प्रतिशत भन्दा बढी जनसंख्या कुनै न कुनै रुपमा सहकारी अभियानमा आवद्ध भइसकेका र ७० अर्ब भन्दा बढी पुँजी परिचालित भएको , ५ हजार भन्दा बढी मानिसहरु सहकारी सम्बन्धीको प्रत्यक्ष रोजगारीमा जोडिएका छन ।

 

Facebook Comments Box