दमक/ दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था ( साकोस)को यहि भदौ १५ गते हुने ८ औं साधारण सभामा पेश गरिने बार्षिक प्रतिवेदन आज सार्वजनिक भएको छ ।
संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत संस्थाका अध्यक्ष संकल्प लिङदेन, सचिव दिलिप सुब्बा, सञ्चालकहरु फुलकुमारी आङदेम्बे व्यवस्थापक कुबेर तुम्वापो लगायतले संयुक्त रुपमा सो प्रतिवेदन सार्वजनिक गरे । सो अवसरमा सञ्चालकहरु कमला योङहाङ, इक्सा सम्बाहाम्फे, टेकनाथ अधिकारी लगायत सहभागी थिए ।
सो संस्थाको प्रतिवेदनमा चालू आर्थिक बर्षमा संस्थाको शेयर पुँजी २ करोड ४५ लाख ७१ हजार रुपैयाँ पुगेको उल्लेख छ । साधारण सभामा संस्था सञ्चालन सम्बनिध विभिन्न २१ वटा नीतिहरु प्रस्तुत गरिने अध्यक्ष लिङदेनले बताए ।
संस्थाको कार्य क्षेत्र जिल्लाभर विस्तार गरिएको पनि जनाइएको छ । सामाजिक कार्य अन्तर्गत संस्थाले रक्तदान, नेत्र दान, असहाय तथा विपन्नहरुलाई लत्ता कपडा प्रदान, प्राकृतिक प्रकोप पीडितहरुलाई राहत तथा सहयोग, वृक्षारोपण, शेयर सदस्यका छोराछोरीहरुलाई विभिन्न विधामा विशेष प्रतिभा सम्मान, ज्येष्ठहरुलाई सम्मान तथा सहयोग वितरण लगायतका कार्यक्रमहरु गरिने पनि प्रतिवेदनमा जनाइएको छ । संस्थाका व्यवस्थापक कुबेर तुम्बापोले सहकारी ऐन २०७४ को दायराभित्र रहेर कर्जा प्रवाह , असुली, ब्याज तथा सुविधाहरु उपलब्ध गराउने गरिएको बताए ।