दमक/ यहि भदौ २० गते हुन गइरहेको दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरि नेकपा निकटको प्रगतिशिल समूहले आफ्नो प्रतिवद्धताहरु सार्वजनिक गरेको छ ।

निर्वाचन परिचालन कमिटीले मंगलवार पत्रकार सम्मेलन मार्फत चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
निर्वाचन परिचालन कमिटीका सहसंयोजक राजेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सो प्यानलका अध्यक्षका उम्मेद््वार बिमल खतिवडाले प्यानलको चुनावी प्रतिवद्धता पत्र पढेर सुनाए ।

प्रतिबद्धता पत्रमा यस अघि तत्कालिन नेकपा एमालेले स्थानीय तथा संघ र प्रदेशका चुनावमा एजेण्डाहरु प्राथमिकता साथ उठाइएका छन् । दमकलाई औद्योगिक सहरको रुपमा स्थापित गर्ने, भ्यू टावर, दमकमा कृषि तथा पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने, गौरीगञ्ज तथा ओलांचुङ गोला भन्सारको स्तरबृद्धिका लागि पहल गर्ने लगायतका बुँदा समेटिएका छन् ।

यस्तै दमकको सहरीकरण र सुरक्षाका लागि सौर्यवत्ती जडान, ईलम प्रशिक्षण केन्द्र सञ्चालन लगायतका बिषय समेत प्रगतीशिल प्यानलको घोषणा पत्रमा समावेश गरिएको छ भने कर प्रणालीलाई सहज बनाउन भुमिका निर्वाह गर्ने लगायतका छन् । निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन बिभिन्न उपसमितिहरु समेत गठन गरि व्यवसायीसँगको भेटघाटलाई बाक्लो बनाइने पत्रकार सम्मेलनमा जनाइयो ।
चुनाव प्रचार कमिटीका संयोजक भगवान बस्नेतले चुनावी अभियानका बारेमा जानकारी गराएका थिए ।

प्रतिवद्धता सार्वजनिक कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य गगन पुरी, निर्माण व्यवसायी महासंघका सल्लाहकार मदन अधिकारी, केन्द्रीय सदस्य गणेश बस्नेत, लगायतका नेता,कार्यकर्ता, व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box