यही भदौ २० गते हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनमा कार्यसमितिको खुल्ला सदस्य पदमा उम्मेद्वारी दिने व्यवसायीहरु मध्ये गोकूल श्रेष्ठ नेतृत्वको संयुक्त लोकतान्त्रिक प्यानलबाट उम्मेद्वार बनेका युवा व्यवसायी हुन सञ्जित रौनियार । संघमा उनको उम्मेद्वारी किन ? कस्तो छ उनको पारिवारिक पृष्ठभुमी ? सामाजिक तथा व्यवसायिक क्षेत्रमा उनको परिचय–
सञ्जित रौनियार झापाको दमकका स्थापित युवा व्यवसायी हुन् । व्यवसायसंगै विभिन्न सामाजिक गतिबिधिहरुमा सक्रिय रौनियारको जन्म विसं २०३७ साल पुष १९ गते दमकमा भएको हो ।
बुबा स्व. जुगलकिशोर गुप्ता र आमा ललितादेवीका कान्छो छोराका रुपमा जन्मिएका रौनियारले दमककै ग्लोबल एजुकेशनल एकाडेमीबाट प्रारम्भिक शिक्षा लिन शुरु गरेका हुन् । २०५४/ ०५५ सालतिर सोहि एकाडेमीबाट एसएलसी उत्तिर्ण गरेका उनले दमक बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गरेका उनको पारिवारिक पृष्ठभुमी पूर्णतया व्यापारनै हो ।
बुबा जुगलकिशोरले गर्दै आएको थान कपडाको व्यापारलाई परिस्कृत र परिमार्जित गर्दै कान्छो छोरा सञ्जीत रौनियारसहित दाजुहरु दिपेन्द्र रौनियार, रतनदिप रौनियार र विक्रम रौनियारले एकताबद्ध भएर उदाहरणीय रुपमा अघि बढाईरहेका छन् । रौनियार परिवार दमकमा सफल र अब्बल व्यापारीक परिवारका रुपमा परिचित छ ।
१० बर्षदेखि दमक ६ मा कामक्षा ट्रेडिङ सञ्चालन गदैै आएका उनी सीजिसहित विभिन्न ब्राण्डका उत्पादनहरुको वितरक अर्थात डिस्ट्रिब्यूटर्सका रुपमा रहेका छन् । उनको सो डिस्ट्रीब्यूटर्सले अहिले ९ जना स्थानीय युवाहरुलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरिरहेको छ भने व्यापारसंगै रौनियारले सामाजिक तथा धार्मिक कामहरुमा पनि विशेष किसिमको योगदान दिदैं आएका छन् ।
युवाहरु माझ लोकप्रिय नेतृत्व दिन सफल रौनियार दमककै पुरानो र स्थापित दमक युथ क्लबको निवर्तमान अध्यक्ष हुन् । यो क्लबले दमकमा बर्षेनी राधाकृष्ण मन्दिर परिसरमा बृहत दुर्गा पूजा आयोजना गर्दै आएको छ । यस बर्ष समेत सो क्लबले विभिन्न उपसमितिहरु गठन गरेर २१ औं दुर्गा पूजाको तयारी गरिरहेको छ ।
अन्तराष्ट्रिय सञ्जाल भएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ एवान अन्तर्गतको लायन्स क्लब अफ दमक इष्टर्न लायनको सर्भिस चेयर पर्सनका रुपमा रहेर सेवामुलक कामहरु गर्दै आएका रौनियार सके सम्म विपन्न तथा असहायहरुको सेवामा आफूलाई समर्पित गर्न पाउँदा गौरव मान्छन । व्यवसाय गरेर पैसा त कमाइएला तर सन्तुष्टीका लागि सामाजिक कामपनि गर्न मान लाग्छ– युवा व्यवसायी रौनियारले भने । सामाजिक कामहरुलाई अघि बढाउन स्थानीय सामाजिक तथा व्यवसायीक संस्थाहरुको सञ्चालनमा आफ्नो संलग्नता हुनुपर्ने आवश्यकता देखेर उनी यस अघि मेची मदिरा व्यवसायी संघ माइपश्चीममा आवद्ध भईसकेका छन् ।
यस पटक यही भदौ २० गते हुन गईरहेको दमकका उद्योगी व्यवसायीहरुको साझा संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचनमा उनले पहिलो पटक उम्मेद्वारी दिने निधो गरेका छन् ।
लोकतन्त्रप्रति विश्वास राख्ने रौनियारले गोकूल श्रेष्ठ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यवसायीहरुको प्यानलबाट कार्य समितिको खुल्ला सदस्यमा उम्मेद्वारी प्रस्तुत गरेर व्यवसायी माझ पुगिरहेका छन् । व्यवसायिक हकहित संगै सामाजिक रुपमा पनि दमक उद्योग वाणिज्य संघलाई स्थापित गर्दै व्यवसायीहरुको साझा संस्थाको गरिमालाई उच्च बनाउन आफूले संघको सदस्यका लागि उम्मेद्वारी दिन लागिरहेको उनले बताए ।
रौनियार भन्छन– धेरै व्यवसायी साथीहरुको राय, सुझाव र सल्लाहका आधारमा मैंले पनि उम्मेद्वार बन्ने निधो गरेको हुँ ।
व्यापारमा ठुलो हिस्सा ओगट्ने मारवाडी, मधेसी समुदायको प्रतिनिधित्वका लागि पनि मलाई आम व्यवसायीहरुले मत दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।