भद्रपुर / झापा उद्योग वाणिज्य संघको ५३ औं साधारणसभा आगमी मंसिर दोस्रो साता हुने भएको छ ।

संघको नियमित मासिक बैठक बस्ने क्रममा आइतबार अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले मंसिर १३ गते शुक्रबार साधारणसभा गर्ने निर्णय गरेको हो । यो साधारणसभा चुनावी साधारणसभा हुनेछ ।
बैठकले आगामी तीनवर्षे कार्यकालका लागि कार्यसमितिको निर्वाचनको मितिसमेत तोकेको छ ।

संघको विधान अनुसार जिल्ला कार्यालयमा सदस्यता लिएकामध्येबाट १० जनाबराबर १ जना गरी छानिने जिल्ला अधिवेशन प्रतिनिधिका लागि मंसिर १६ गते सोमबार र जिल्ला कार्यसमितिको निर्वाचन मंसिर १७ गते बिहिबार गर्ने निर्णय गरेको महासचिव पंकज शर्माले जानकारी दिए ।
बैठकले यो साधारणसभा चुनावी साधारणसभा भएकोले असोजभित्र नविकरण गरिसक्न सदस्य फर्महरुलाई आह्वान गरेको छ ।

संघमा जिल्ला कार्यालयमा झण्डै आठ सय सदस्य रहेका छन् । तीमध्ये १० जना बराबर १ जना चुनिएर झण्डै ८० जना प्रतिनिधिले कार्यसमितिको निर्वाचनमा भाग लिन पाउने छन् । तीनवटा शाखा कार्यसमितिका पदाधिकारी–सदस्यहरुले भाग लिन पाउनेछन् भने एशोसिएट्स र वस्तुगत सदस्य सहभागी हुने महासचिव शर्माले जानकारी दिए ।

Facebook Comments Box