दमक/ संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले दमक उद्योग वाणिज्य संघमा कायम गििरँदै गरेको एक्लौटी पार्टीकरणलाई रोक्नेसहितका आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
यहि भदौ २० गते हुन गईरहेको दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरेर आज संयुक्त प्याननले एक कार्यक्रम गरि प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
प्रतिवद्धता पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा समुहको प्रतिवद्धता लेखन तथा निर्माण समितिका संयोजक पर्शुराम रिजालले दमक उद्योग वाणिज्य संघमा पछिल्लो समय भईरहेको एक्लौटी पार्टीकरणलाई हटाउँदै गरिमामय साझा संस्थाको रुपमा विकास गर्नेसहितको प्रतिबद्धता सार्वजनिक गरे । दमकलाई व्यापारिक र औद्योगिक शहरका रुपमा विकास गर्नका लागि आसन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक पक्षधरलाई जिताउन उद्योगी,व्यवसायीहरुसंग उनले आग्रह गरे ।
२४ वुँदे सार्वजनिक सो प्रतिबद्धतामा व्यवसायीलाई बोझको रुपमा रहेको कर प्रणालीलाई व्यवस्थित गर्न पहल गर्ने, संघको पहलमा करदाता परामर्श सेवा हेल्प डेक्स सञ्चालनमा ल्याउने, व्यापारीलाई लिईदै आएको दोहोरो,तेहेरो करलाई न्यूनीकरण गरिने ,सडक पूर्वाधारका नाममा वजार प्रवेश गर्ने सवारी साधनलाई लिईदै आएको अतिरिक्त कर हटाउन पहल गरिने जनाईएको छ ।
यसैगरि, व्यवसायिक हितकोषको रकम लागत अनुसार वितरण गरिने, संघमा आवद्ध हुने व्यवसायीसंग लिईदै आएको महंगो र अतिरिक्त शुल्क र फोहोरमैला संकलनको नाममा लिईदै आएको महंगो अतिरिक्त शुल्क घटाउने पहल गरिने उल्लेख छ ।
यस्तै, व्यवसायी र घरधनीबीचको सुमधुर सम्बन्ध वनाउन दुवै पक्ष रहने गरि संघको अभिभावकत्वमा एक समिति निर्माण गरिने , संघमा आर्थिक अनुशासन कायम गरिने, फलफूल ,तरकारी तथा मासुजन्य पदार्थलाई विषादीरहित वनाउन आवश्यक प्रयोगशाला निर्माण गरिने उल्ल्खे छ ।
निस्कृय अवस्थामा रहेको इलम प्रशिक्षण केन्द्रको नाममा रहेको जग्गालाई पुनः सञ्चालन गर्न पहल गर्ने गरिने, साप्ताहिक हाट तथा वजारलाई व्यवस्थित गरिने, दमकलाई सुरक्षित वजारका रुपमा विकास गरिने, दमकको औद्योगिक पार्क निर्माण गर्न संघ मार्फत नीजि क्षेत्रलाई प्रोत्साहित गरिने, वन्द,हडताल तथा चन्दा आतंकलाई निस्तेज पारिने, लगायतका व्यवसायिक मुद्धाहरु सुल्झाउने साँझा प्रतिवद्धता गरेका छन् ।
सो अवसरमा निर्वाचन परिचालन समिति सहसंयोजक रामचन्द्र वरालले सञ्चालन गरेको सो कार्यक्रममा संयुक्त लोकतान्त्रिक व्यवसायीका तर्फबाट अध्यक्षका उम्मेद्वार गोकूल श्रेष्ठले संयुक्त प्यानलको साझा प्रतिबद्धतालाई आफ्नो नेतृत्वमा अक्षरस पालना गर्दै संघको आर्थिक कारोबारलाई परादर्शी बनाउने प्रतिबद्धता जनाए ।
प्रतिवद्धता सार्वजनिक कार्यक्रममा राप्रपाका सहमहामन्त्री रामकुमार थापाले संयुक्त प्यानलले मुलुकको संविधानको मर्म र भावना अनुसार सबैको प्रतिनिधित्व हुने किसिमका साझा उम्मेद्वारलाई अघि सारेको बताए ।
प्यानल यसकारण समावेशी
संयुक्त लोकतान्त्रिक प्यानल सत्तामा रहेका र नरहेका दलहरुको समेत समर्थन भएको प्यानल बनेको, जातिगत र पार्टीगत सन्तुलन कायम राख्ने प्यानल बनेको र तृतीय उपाध्यक्षको रुपमा महिला उम्मेद्वार रमा लिम्बुलाई अघि सारिएको छ ।
त्यसैगरी दमकको व्यापारमा ठुलो हिस्सा ओगट्ने मारवाडी तथा मधेसी समुदायका उम्मेद्वार समेत दुई जना रहेका छन् । लोकतान्त्रिक प्यानलले मारवाडी समुदायका स्थापित युवा व्यवसायीहरु नविन अग्रवाल र सञ्जित रौनियारलाई उम्मेद्वार बनाएको छ । सबै जातजातीको सन्तुलन समेत यो प्यानलमा रहेकाले साझा नेतृत्वका रुपमा यसलाई लिन सकिने तर्क छ ।