झापाको दमक नगरपालिका वडा नं १० ले चालू आर्थिक बर्ष २०७९/०८० का लागि विनियोजित सबै शीर्षकका योजना तथा कार्यक्रमहरुको कार्यान्वयन शतप्रतिशत गर्न सफल भएको छ ।
वडाका लागि नगरपालिकाबछ विनियोजित कूल १ करोड १७ लाख बराबरका योजना तथा कार्यक्रमहरु २० असार भित्रै शतप्रतिशत कार्यान्वयन गरिएको वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।
वडाका सबै जनप्रतिनिधि, कर्मचारी, वडालाई मार्गनिर्देश गर्दै आएको सिंगो दमक नगरपालिका कार्यालय र विभिन्न शाखागत कर्मचारीहरुको सक्रियताका कारण योजनाहरुको कार्यान्वयनमा सफलता मिलेको वडाध्यक्ष भण्डारीको बुझाई छ । भण्डारीको नेतृत्वमा रहेको वडा समितिमा भूमिका आचार्य (दाहाल) महिला वडा सदस्य, रविन्द्र लिम्बु, र जंगबहादुर राई वडा सदस्य रहेका छन भने दलित महिला सदस्यमा रेनुका देवी दर्जी रहेका छन ।
स्थानीय तहको पुनसंरचना अघि साविक वडा नं १७, १८ र १९ समायोजनपछिको भुगोल वडा नं १० का रुपमा कायम छ । यो वडामा कूल ३६ वटा टोल बिकास संस्थाहरु नगरमा दर्ता भई सञ्चालनमा छन ।
सामाजिक क्षेत्रमा सक्रिय जिवन विताइरहेका युवा पुस्ताले वडाको नेतृत्व लिएकै कारण वडाको कामले पनि गति लिएको छ । चालू आर्थिक बर्ष २०७९÷०८० मा वडालाई नगरपालिकाले दिएको १ करोड १७ लाखको सिलिङ बजेट शतप्रतिशत खर्च गर्न यो वडा सफल भएको हो ।
वडाको बिकासका लागि चौतर्फी बजेटको आवश्यकता भएपनि वडालाई पालिकाले दिएको मार्गदर्शन भित्र रहेर काम गर्नुपर्ने भएकाले कतिपय शीर्षकमा चाहेर पनि बजेट खर्चिन नपाउने अवस्था अन्य वडामा जस्तै यस वडामा पनि छ ।
चालू आर्थिक बर्ष २०७९/०८० मा नगरकै महत्वपूर्ण र बहुप्रतिक्षित योजनाको रुपमा रहेको दमक चक्रपथको यस वडामा पर्ने करिब ११ किलोमिटर मध्ये करिब ५ किलोमिटर खण्ड कालोपत्रे गर्ने काम भएको छ ।
यसबाहेक कतिपय भित्री सडकहरुमा पनि कालोपत्रेको स्तरबृद्धी गर्ने काम यही बर्ष भएको छ भने वडा भित्रका चार वटा भित्री सडकहरुको करिब १२ सय मिटर खण्ड उच्चस्तरीय ग्राभेल गरिएको छ ।
ठुलो भुभाग कृषि क्षेत्रले ओगटेको यो वडामा कृषि बिकासका कार्यक्रमहरु पनि उत्तिकै महत्वका साथ सञ्चालनमा छन । वडामा चालू आर्थिक बर्षमा नै प्रदेश सरकारको सहयोगमा १२ जना किसानलाई अनुदानमा बोरिङसहित सिचाइँ मोटर उपलब्ध गराइएको छ । न्यू संगम कृषि सहकारी मार्फत कोशी प्रदेश सरकारले यहाँ सिचाइँको लागि उपलब्ध गराएको अनुदानले यहाँ आकाशे पानीका भरमा अन्य खेतीहरु गर्नुपर्ने किसानहरुको बाध्यतालाई हटाइदिएको छ ।

कृषि बिकासका कार्यक्रम अन्तर्गत यो वडामा वडाले मकै छोडाउने मेसिन १८ वटा समुहलाई र एक÷एक वटा स्प्रे टेंकी उपलब्ध गराएको छ भने नगरपालिकाले अनुदानमा घाँस काटने मेसिन, चैते धानको बीउ र सहुलियत दरको रासायनिक मल उपलब्ध गराएको वडा सचिव विनोद प्रसाइँले जानकारी दिए ।
यो वडाबासीको प्रमुख समस्याका रुपमा रहेको रतुवा र मावा नदी खोलाको कटान रोकथामका लागि जनताको तटबन्धन कार्यक्रम अन्तर्गत रतुवाखोलामा ७०० मिटर ढुंगाको स्पर निर्माण गरिएको छ भने अस्थाई रुपमा २२ सय मिटर पोको पाइलिङ गर्ने काम पनि यो वडामा भएको छ । बाँसको माध्यमबाट खोला किनारमा कटान रोकथामका लागि गरिने कामलाई पोकोपाइलिङ भनिन्छ ।
वडाले यही बर्ष वडाका विभिन्न चार वटा मार्गमा सडक बत्ती जडान गरेर उज्यालो र सुरक्षित वडाका रुपमा अघि बढाउन खोजेको छ । यस अन्तर्गत २० प्रतिशत उपभोक्ताहरुको लागत सहभागितामा कूल १२ लाख रुपैयाँको खर्चमा झण्डै ४ किलोमिटर सडक खण्डमा सडक बत्ती जडान गरिएका हुन । त्यसैगरी वडाबासीलाई शुद्ध पिउने पानीको व्यवस्थाका लागि यहि बर्ष ७२ वटा खानेपानीका फिल्टर टैंकी उपलब्ध गराइएको छ ।
स्थानीय तहको बजेट कार्यान्वयन सम्बन्धि निर्देशिका र माथिल्लो तहका सरकारहरुसँगको सहकार्यमा उत्तिकै महत्वसाथ कार्यक्रमहरु अघि बढाइरहेको वडा नम्बर १० ले यसैबर्ष महिलाहरुको आय आर्जनमा बृद्धि र सीपको बिकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको निर्वाचित वडा समितिकी महिला सदस्य भुमिका आचार्य दाहालले बताइन ।

वडाले तालिम केवल औपचारिकतामा मात्रै सिमित नहोस र व्यवहारिक जिवनमा पनि यसको उपयोग गर्दै उद्धेश्य र लक्ष्य अनुरुप यसलाई व्यवसायमा जोडनका लागि महिला जनप्रतिनिधिहरुका बीचमा विशेष छलफल पनि भइरहेको दाहालले बताइन ।
दलित महिलाहरुको सीप बिकास र उनीहरुको परम्परागत पेशाको संरक्षणका लागि प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत वडाका ६ जना महिलाहरुलाई सिलाई कटाई मेसिन यसैबर्ष प्रदान गरिएको छ भने पञ्चेबाजा बजाउने तालिम र महिलाहरुका लागि अचार बनाउने तालिम, वारिस्ता ( कफि) बनाउने तालिम लगायतका तालिमहरु पनि प्रदान गरिसकिएको छ ।
धनीपूर्जा वितरणमा नगरमै पहिलो वडा
भु स्वामित्वको समस्या झेल्दै पुस्तौ बिताएका यहाँका नागरिकहरुले दमकका अन्य वडाको तुलनामा सबैभन्दा पहिला जग्गाको स्वामित्व प्राप्त गर्ने आधार खडा भइसकेको छ । वडामा ठुलो समस्याका रुपमा रहेको जग्गा धनीपूर्जाको समस्या समाधानका लागि जिल्लामा क्रियाशील तिलकसिंह पाण्डे नेतृत्वको भुमी आयोगले यहाँको जग्गा नाप जाँच गरि धनीपूर्जा दिलाउने प्रकृया शुरु गरिसकेको छ ।

वडाध्यक्ष भण्डारीको सक्रियता र चासोसँगै सिंगो दमक नगरपालिकाको टिम धनीपूर्जा दिलाउने काममा प्रतिबद्ध भएर लाग्दा यहाँका ३८ परिवारले नयाँ जनप्रतिनिधि आएपछि आफनो जग्गाको स्वामित्व पाइसकेका छन । यो वडाका थप ३०० अव्यवस्थित बसोबासी, भुमीहिन , दलित परिवारलाई जग्गाको धनीपूर्जा दिलाउने प्रकृया अन्तिम चरणमा पुगिसकेको सो सम्बन्धि काममा शुरुवातदेखिनै सक्रिय भुमिका निर्वाह गर्दै आएका नगरपालिकाका सामाजिक बिकास शाखाका कर्मचारी डम्बर बराल बताउँछन । वडा नं १० जग्गाको धनीपूर्जा दिलाउने दमक नगरकै पहिलो वडाको रुपमा उनले बताए ।
युवाहरुलाई कुलतमा फस्नबाट जोगाउँदै स्वस्थ बनाउन र राष्ट्रीय अन्तराष्ट्रियस्तरका प्रतियोगिताहरुमा अवसर पाउन सकुन भन्ने उद्धेश्यले वडाले खेलकुदका कार्यक्रमहरुलाई पनि उत्तिकै महत्व दिई आएको छ ।
वडाले छिमेकी जिल्ला मोरङको उर्लाबारीमा पर्ने आमबाडी र नलबाडीको सीमा क्षेत्रमा नलबाडी खेलकुद मैदान निर्माणलाई पनि अघि बढाइरहेको छ । यो खेलकुद मैदानको माटो पुर्ने , सम्याउने लगायतका कामको लागि यस बर्ष प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँको सदुपयोग गरिएको छ ।
चालू बर्षनै यहाँको सिंहदेवी देवस्थलको नाममा रहेको २ कठठा जमिनमा ब्याडमिन्टन कभर्डहल बनाउन शुरु गरिसकेको छ । पहिलो बर्ष ४ लाख रुपैयाँ बजेट खर्चिएर वडामा शुरु भएको कभर्डहल निर्माणको काम आफनो कार्यकाल भित्रै पुरा गरि छाडने वडाध्यक्ष भण्डारीको अठोट छ ।
यो वडाको सानो बाह्रघरेमा यहाँका आदिबासी धिमाल समुदायले विशेष महत्वसाथ पूजा गर्ने गरेको २०० बर्ष पुरानो धिमाल ग्राम महाराजथानको संरक्षण र सौन्दर्यकरण दमक नगर प्रमुख र उपप्रमुखको समेत प्राथमिकतामा परेको छ ।
नगर प्रमुख, उपप्रमुख कोषको बजेटबाट यो ग्राम महाराजथानको करिब ६ कठठा जग्गा संरक्षण गर्दै पक्की पर्खालसहितको घेराबारा, द्धार निर्माण र सौन्दर्यकरणको काम पनि यो वडामा भइरहेको छ ।
वडालाई सफा, सुन्दर र स्वच्छ बनाइराख्न यहाँँका जनप्रतिनिधिहरुको पहल र सक्रियतामा यसैबर्षदेखि हरेक पन्ध्र दिनमा यहाँ दमक नगरको फोहोरमैला व्यवस्थापन टीमका कर्मचारीहरुले फोहोर संकलनको कार्य गरिआएका छन ।
यो वडाको भुगोल समेत पर्ने गरि निर्माण गर्ने भनिएको अन्तराष्ट्रियस्तरको औद्योगिक पार्कका साथै यहाँ संघीय सरकारले बनाउने भनिएको विज्ञान पार्क निर्माण र पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने लक्ष्य राखिएको इन्द्रेणी तालको संरक्षण तथा बिकास यहाँका दिर्घकालिन र महत्वकांक्षी योजनाहरुको कार्यान्वयनले मात्रै यो वडाबासीको थप बिकास र समृद्धिको सपना पुरा हुने देखिन्छ ।
