दमक/ दमकस्थित मेची सहकारी संस्थाले २३ औं वार्षिकोत्सव तथा २५ औं साधारणसभाको अवसरमा दमकमा क्रियाशील दुई जना पत्रकारसहित सहकारी अभियान्तालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उनीहरुलाई सम्मान गरे । मेचीेले स्थापना गरेको मेची सहकारी पत्रकारिता पुरस्कार दमकबाट सञ्चालित निष्कर्ष न्यूजका कार्यकारी सम्पादक विष्णु पौडेललाई र गणेश प्रसाद बस्नेत स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका सम्वाददाता डिकेश लामालाई प्रदान गरियो ।
सोही अवसरमा सहकारी अभियान्ताका रुपमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रमेश पोखरेललाई सम्मान गरियो । भने सञ्चार गृह तर्फ रेडियो भिजन विर्तामोडलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य शिव डाँगी, सहकारी सम्मानित व्यक्तित्व पोखरेल, जिल्ला सहकारी संघका सहसचिव भानु दंगाल लगायतले सहकारी अभियानलाई निरन्तर अघि बढाउन सहकारी मैत्री कानुन निर्माणमा जोड दिए ।
मेची सहकारीका अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष भट्टराईले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दमक ४ मा संस्थाले सहकारी आवास क्षेत्र निर्माणको तयारी पूरा गरेको जानकारी दिए । उनले संस्था सदस्यहरुको सेवामुखी बनेको पनि दाबी गरे । संस्थाका व्यवस्थापक खोमप्रसाद वगालेले आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए । उपाध्यक्ष गीता कुँवरले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी दाहालले गरेका थिए ।